बिर्तामोड , मंसीर ७ । बिर्तामोड ५ की शान्तिदेवी राजवंशी भण्डारी पूर्वाञ्चल क्यान्सर अस्पतालमा भर्ना भएको ११ दिन भयो । यतिका दिनसम्म न त उनको उपचार शुरु गरिएको छ न रुंग्ने मानिस नै छन् । पाठेघरको क्यान्सर लागेपछि उपचारका लागि गएकी ४० वर्षिया शान्तिदेवी उपचार खर्च र कोही नहुँदा विचल्लीमा परेकी हुन् ।

भद्रपुर माइत भएकी शान्तिदेवीको सूर्यप्रसाद भण्डारीसँग विवाह भएको थियो । शान्तिदेवी क्याटरिङको खाना पकाउने र उनका श्रीमान सूर्यबहादुरले ढुवानी मजदुरको काम गर्थे । सूर्यबहादुरको १२ वर्षअघि मृत्यु भएको हो भने उनका ५ जना छोरा र २ छोरीमध्ये १२ वर्षका कान्छा छोरा विष्णु भण्डारी मात्र अहिले उनको साथमा छन् । त्यही नाबालक छोराले मागेर दिएको खानेकुरा खाएर उनी अस्पतालमा बाँचिरहेकी छन् । खर्च नहुँदा अस्पतालले उपचार शुरु गरेको छैन । ‘ डाक्टरले १५ हजारको टेष्ट गर्न भन्नुभएको छ ’ शान्तिदेवीका सहयोगी राजन पिल्लेले भने,‘पैसा नहुँदा गर्न सकिरहेका छैनौं ।’ टेस्ट नगर्दा अरु पनि उपचार हुन नसकेको उनले बताए ।

यसअघि शान्तिदेवीलाई पाठेघरको समस्या भएपछि मनमोहन हस्पिटलमा लगेर अप्रेसन गरिएको थियो । पाठेघरको ट्युमर अप्रेसन गरेर फालेपनि उनलाई क्यान्सर देखा परेको थियो । मनमोहन हस्पिटलमा लागेको खर्च समेत तिर्न नसकेको अर्का सहयोगी गोपी बंशलले बताए । बालाजी मन्दिरमा खाना पकाउने काम गरेको हुनाले मारवाडी युवा मंचले ६० हजार रुपैयाँ मनमोहन हस्पिटलमा लगेर तिरिदिएको उनले जानकारी दिए । त्यस अस्पतालमा अझै तिर्न बाँकी रहेको बंशलको भनाइ छ । अत्यन्त गरिबीको अबस्थामा रहेकी शान्तिदेवी बेसहारा बनेकी छन् । ‘सहयोग गरिदिनु पर्यो दाजु, मेरो कोही छैन ’ उनले अस्पतालको बेडबाट याचना गरिरहेकी छन् । उनले सहयोगी राजन पिल्लेको ९८६७६४७८५५ नम्बरमा सम्पर्क गरी आफ्नो ज्यान बचाइदिनका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्