बिर्तामोड, मंसीर ८ । नेपाली कांग्रेस झापाको निर्वाचनमा सचिव पदका उम्मेद्वार नविन विमली युवा नेता हुन् । जिल्लामा स्पष्ट,प्रखर र क्षमतावान नेताको पहिचान बनाएका विमलीको जीत सुनिश्चित रहेको कांग्रेस नेताहरुले बताएका छन् । नेपाली कांग्रेसले क्षमतावान युवालाई वडा तहदेखि नै नेतृत्व जिम्मा लगाउँदै आएकाले सचिव पदमा विमली भारी मतले विजयी हुने अधिकांश कांग्रेस नेताहरुको भनाई छ ।

एक कांग्रेस नेताले विमलीलाई पार्टीका सबै नेताकार्यकर्ताले मन पराउने गरेको बताए । पार्टी र कार्यकर्ताको भावना अनुसार अघि बढ्दै आएका युवा नेता विमली सचिव पदका योग्य,सक्षम र इमान्दार उम्मेद्वार रहेको उनको भनाई छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंसीर १० गते झापा जिल्ला समितिको निर्वाचन हुँदैछ । विमली सभापति पदका उम्मेद्वार देउकुमार थेवेको प्यानलबाट सचिव पदमा उमेद्वार बनेका हुन् ।

विमलीको राजनीतिक इतिहास यस्तो छ

२०५७ सालमा १८ वर्षको उमेरमा मेची बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघको इकाई सदस्य भएर विद्यार्थी राजनीतिमा पाइला टेकेका विमली त्यसपछि सहसचिव,सचिव, सभापति हुँदै क्षेत्रीय सचिव र सभापति, झापा जिल्ला सचिव र ५ वर्ष जिल्ला सभापतिमा रहेर नेतृत्व सम्हालिसकेका नेता हुन् । त्यसयता २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनमा होमिएका उनी कैयौं पटक थुनामा पनि परे । जस्तोसुकै असहज परिस्थितिमा पनि निडर भएर राजनीतिक मोर्चामा डट्नु उनको हक्की स्वभावको परिचय बनेको छ । आजसम्मको त्यही निरन्तरता, सहभागिता र संघर्षले उनको छवि निर्माण गरेको छ ।

राजनीतिक संघर्षबाट पछि नहट्ने र त्यसलाई परिमाणमुखी बनाउन लागिपर्ने उनको हक्की स्वभावले जिल्लाको कांग्रेस राजनीतिमा उनीलाई फरक पहिचान दिंदै परिचित गराईरहेको छ । आजसम्मको राजनीतिक यात्रामा आफ्ना कुरा सोझो, दृढता र परिपक्व किसिमले राख्ने उनी राजनीतिमा अक्सर देखिने लप्पनछप्पन, चाकडी र अर्काको बद्ख्याइँ गरेर आफू मपाईं बन्न खोज्ने शैलीको विरुद्ध छ ।

अबका दिनमा आफ्नो लक्ष्य महामानव राजनेता कांग्रेसका संस्थापक बीपी कोइरालाको राजनीतिक दर्शनलाई मूलमन्त्र मानेर व्यावहारिक राजनीतिमा जोडिने विमलीको भनाई छ । उनले पार्टीमा पुरानो पुस्ताको योगदान र अनुभवलाई मार्गदर्शन मानेर नयाँ पुस्तालाई राजनीतिमा युगसापेक्ष रूपान्तरणमा दत्तचित्त हुने सोचमा आफू रहेको बताएका छन् । नेपाली कांग्रेसका सबै मतदाताहरुलाई आफूलाई मत दिएर विजयी गराउन विमलीले अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्