विजय बराल ,
चन्द्रगढी । झापाको चन्द्रगढीमा तीन दशकअघि खोलिएको मैनाचुली ह्युम पाईप उद्योगले धेरै उत्पादन गर्दै थोरै आम्दानीमा चित्त बुझाउने गरेको छ ।
२०५० सालमा खोलिएको यो उद्योगलाई अहिले साझेदारीमा सञ्चालक गोपालबहादुर थापाले निरन्तरता दिँदै आएका छन् । साविक मेची अञ्चलकै पहिलो ह्युम पाईप उद्योग रहेको यो मैनाचुली उद्योगबाट झापालगायत पूर्वका मोरङ,सुनसरी ,ताप्लेजङ, इलामसम्म उत्पादन पुग्ने गरेको सञ्चालक थापा बताउँछन् । स्थानीय सरकार बनेपछि यसको माग बढदै जाँदा पहिला माग पुरा गर्न धौ धौ भएको उनले बताए ।
बार्षिक रुपमा करौडौंको ब्यापार गरेता पनि नाफामा मात्र सीमित नरहेको उनी बताउँछन् । झापाका समाजसेवी भनेर चिनिएका थापाले विभिन्न मठमन्दिर ,सामुदायिक विद्यालय, पानीले समस्यामा परी आवतजावतमा समस्या भएको ठाउँमा सहयोग पनि गर्दै आएको पाइन्छ । झापा जिल्लामा विकास निर्माण तीब्ररुपमा भइरहेको छ । बालुवा गिटीलगायतका नदीजन्य स्रोतहरु दिनप्रतिदिन घटदै जाँदा यस्ता ह्युम पाईप उद्योगहरु पनि प्रभावित भएका छन् । पहिलो पटक कोलकाताबाट पाईप उत्पादन हुने फर्मा ल्याएर सञ्चालन गरेको यो उद्योगमा काम गर्ने कर्मचारी पनि लामो समयसम्म टिक्नु सञ्चालकको विशेषता नै मान्नु पर्दछ । काममा शारीरिक रुपमा कठिन काम भएपनि आफ्नो परिवार पाल्न र जीवनयापन गर्न सहज भएको कामदारहरु बताउँछन ् । हाल मैनाचुली ह्युम पाईप उद्योगमा १५ जनाले प्रत्यक्ष काम पाएका छन् ।
एउटा ह्युम पाईप बनाउन हप्ता दिनभन्दा बढी लाग्दछ । बालुवा, गिटी , सिमेन्ट ,छड , केमिकल लगाएर फर्मामा फिट गरेपछि सेट नभइन्जेल राख्नु पर्छ र फर्माबाट निकालेपछि पनि ह्युम पाईप मजवुत बनाउन पानीमा डुवाएर राख्नु पर्दछ । ६ इन्चदेखि १२० इन्चसम्मका १६ किसिमका साईजमा यो उद्योगमा ह्युम पाईप बन्ने गर्दछ । साथै खोला नालाका छेउछाउमा बाध बाँध्नको लागि तार जाली पनि यहाँ केहि वर्षदेखि बनाउन थालेको सञ्चालक थापा बताउँछन् । खोला नाला, पैनी,सडकलगायत धेरै ठाउँमा प्रयोग हुने ह्युम पाईपले विकास निर्माणमा टेवा पु¥याएको छ ।
यस्ता ह्युम पाईपमाथि टेकेर मानिसहरुले आवतजावत मात्र गर्दैनन् , सानादेखि ठूल–ठूला लोड भएका ट्रकको पनि क्षमता थामेको हुन्छ । ह्युमपाइपले महत्वपूर्ण पुलको काम गरेको पाइन्छ । ।अहिले झापामा यस्ता उद्योग ७ वटा सञ्चालनमा छन् । तर निजी क्षेत्रमा भएपनि सञ्चालनमा आएको यस्ता उद्योगलाई सरकारले सम्मान गरेको देखिदैन न त सञ्चारमाध्यमले नै प्राथमिकता दिएका छन् ।