बिर्तामोड, मंसीर ११ । बिर्तामोड नगरपालिकाको ५ नं वडा कार्यालय विगत पाँच वर्षदेखि कृषि बजार व्यवस्थापन समितिको भवनमा छ । वडा कार्यालयले अहिलेसम्म समितिलाई बसेवापत भाडा तिरेको छैन ।

यसरी वर्षौसम्म निशुल्क रुपमा बसेको वडा कार्यालयलाई आगामी पुषभित्र घर खाली गर्न कृषि बजार व्यवस्थापन समितिले पत्र पठाएको छ । माघ १ गतेभित्र घर खाली गर्न वडा कार्यालयलाई पत्र पठाइएको समितिका अध्यक्ष कमलप्रसाद पौडलले बताए । त्यसको बोदार्थ नगरपालिका कार्यालयलाई बुझाइएको छ । ‘ घर खाली गर्नका लागि मौखिक रुपमा हामीले धेरै पटक भनिसक्यौं ’उनले भने , ‘ लिखित रुपमा तेस्रो पटक पत्र पठाएका छौं ।’ स्थानीय तहको निर्वाचन भएपछि २०७४ असोजदेखि बिर्तामोडको ५ नं वडा कार्यालय कृषि बजार व्यवस्थापन समितिको पुरानो घरमा बसेको थियो । समितिको घर जीर्ण भइसकेपछि कृषि विभागले समितिका लागि बनाइदिएको भवनमा २०७७ सालदेखि वडा कार्यालय सरेको छ । वडा कार्यालय सरेपछि कृषि बजार व्यवस्थापन समिति पुरानो घरमै बस्न बाध्य भएको छ । नयाँ भवनमा वडा कार्यालय आफूखुशी सरेको समितिका अध्यक्ष पौडेलले बताए । ‘हामीले माघ १ गतेसम्म खाली गर्न समय दिएका छौं’ उनले भने , ‘ त्यस भाकाभित्र नसर्दा माघ २ गते भेला बसी ठोस निर्णय गर्छौ ।’

शुरुमा परिस्थितवश वडा कार्यालयले आश्रय लिएपनि अहिले सहज हुँदा समेत भाडा नदिनु अनि खाली पनि नगर्नु राम्रो नभएको भन्दै उनले अब चुप लागेर नबस्ने बताए । हिजो कृषि बजार व्यवस्थापन समितिको कर्मचारी विदाई कार्यक्रममा सल्लाहकारहरुले त्यस विषयमा कुरा उठाएका थिए । कार्यक्रममा बोल्दै समितिका सल्लाहकार एवं पूर्व वडाध्यक्ष गोपी गिरीले स्वायत्त संस्थाको रुपमा रहेको कृषि बजार व्यवस्थापन समितिको घरमा वडा कार्यालयले जबर्जस्ती बस्न नमिल्ने बताए । त्यस्तै अर्का सल्लाहकार एवं पूर्व जनप्रतिनिधि लोकबन्धु कन्दङ्वाले त्यस विषयमा वडा कार्यालय र नगरपालिकासँग छलफल गर्न आबश्यक भएको बताए । उनले सहमति गरेर मात्र वडा कार्यालयले बस्न उचित हुने धारणा राखे । कार्यक्रममा बोल्दै समितिका संस्थापक अध्यक्ष हर्कलाल गिरीले समितिको भौतिक संरचनाको दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै त्यसतर्फ समितिलाई ठोस कदम चाल्न आग्रह गरे । उनले दाता रामबाबु प्रसाईबाट ठूलो दुख गरेर आफूहरुले कृषि बजारका लागि ४ विघा ३ कठ्ठा जग्गा उपलब्ध गराएको स्मरण गराए । कृषि बजारलाई व्यवस्थित बनाउन उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्