इलाम , मंसीर ११ । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का निर्वाचित भएका छन् ।

आफ्ना प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरे । एक हजार ७ सय ९५ मतदातामध्ये शुक्रवार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो । खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।
पदाधिकारीमा खड्का समूह अल्पमतमा

अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । सात पदाधिकारीमध्ये खड्का समूहबाट सभापतिसहित ३ र आचार्य समूहबाट ४ पदमा विजयी भएका छन् । जसबाट पदाधिकारीमा खड्का समूह अल्पमतमा परेको छ ।
दुवै उपसभापति पदमा आचार्य समूहका उम्मेद्वार विजयी भएका छन् । आचार्य समूहबाट खगेन्द्र देवान ८ सय ७४ र विष्णुकुमारी लिम्बू दाहाल ७ सय ७८ मतका साथ विजयी बने । खड्का समूहका केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलाल ६ सय ९९ मत पाएर पराजित बने ।
दुई सचिव पदमा दुवै समूहबाट एक–एक जना विजयी बनेका छन् । सचिवमा आचार्य समूहका पूर्णप्रसाद गौतम ८ सय १९ र खड्का समूहका निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बने । आचार्य समूहका विष्णु हेमकुमार कार्की ७ सय २२ र खड्का समूहका हुकुमलाल थेबेले ७ सय १५ मत पाएर पराजित बने ।
त्यस्तै दुई सहसचिव पदमा समेत दुवै समूहबाट एक–एक जना विजयी बनेका छन् । सहसचिवमा खड्का समूहबाट डालाकुमारी कार्की ८ सय ६५ र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बने । आचार्य समूहका चक्र एक्तेन (अभिषेक) ले ६ सय ५६ र प्रविना राई ६ सय ३६ मत पाएर पराजित बने । २२ जिल्ला सदस्यका लागि भएको निर्वाचनमा समेत मिश्रित परिणाम आएको छ ।
अन्तिम समयमा उम्मेदवारबीच समीकरण फेरिएपछि अधिवेशन रोचक बनेको थियो । संस्थापन र इतरका २÷२ उम्मेदवार चर्चामा रहेपनि अन्तिममा संस्थापनका डम्बर खड्का र इतरबाट भेषराज आचार्यले मात्र सभापति पदमा प्रतिष्पर्धा गरेका थिए । आचार्यभन्दा कमजोर उपस्थिति रहेको खड्काले चारमध्ये दुईवटा समूहको समेत साथ पाएपछि जित निकाल्न सफल भए । खड्कालाई संस्थापनकै पूर्वसभापति केशव थापा र इतरका निवर्तमान सभापति हिमालय कर्मचार्यले समर्थन गरेका थिए । पछिल्लो समय आचार्य पक्ष बलियो बन्दै गएपछि उनलाई एक्ल्याउन नयाँ समीकरण बनेको थियो । संघीय निर्वाचन क्षेत्रतर्फका दुवै क्षेत्रमा आचार्य पक्षका उम्मेदवारले सभापति जितेका थिए । प्रदेशसभाका ३ क्षेत्रमा आचार्य पक्षका र १ क्षेत्रमा मात्र खड्का समूहका सभापति चुनिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्