झापा, मैसीर १२ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व दाबी कर्ताहरुको जिम्मेवारी बाँँडफाँड गरिएको नामावली सहमतिका लागि पेश गर्दैछन् ।


हिजो बेलुकी अबेरसम्म बसेको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा सबैजसो प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरे पनि अध्यक्षका प्रत्यासी भीम रावल र उपाध्यक्षका आकांक्षी घनश्याम भुसालले भने विरोध जनाएको छ । दुई नेताको विरोध रहे पनि हिजोको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार ओलीलाई दिएको छ ।

यसअनुसार आज ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन् । ओलीको प्रस्ताव सर्वसम्मतिबाट अनुमोदन हुने नेता विष्णु रिजालले दाबी गरे । तर ओलीको प्रस्तावमा कसैले असन्तुष्टि जनाए त्यो पदमा चुनाव हुने उहाँको भनाइ छ । सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने आमकार्यकर्ताको भावनाअनुसार हिजोको बन्द सत्रले यसको अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको उहाँले बताए । नेता रिजालकाअनुसार भीम रावल र घनश्याम भुसालसँग सहमतिको प्रयास भइरहेको छ । अन्तिमसम्ममा उहाँहरु पनि सहमतिमा आउने र सहमति हुन नसकेमा मात्रै चुनाव हुने उहाँले बताए । विधान संशोधन पारित भएसँगै एमालेको पदाधिकारी अब १९ सदस्यीय पुगेको छ । १९ जना पदाधिकारीमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष रहनेछन् । साथै १ जना महासचिव र ३ जना उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् । केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बन्नेछ । अस्ति शुक्रवार चितवनमा सुरु भएको एमालेको १० औँ महाधिवेशन आज सक्ने कार्यतालिका छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्