बिर्तामोड , मंसीर १३ । नेपाली काँग्रेस झापाको जिल्ला अधिवेशनमा विजेता र उपविजेता बनेका सभापतिका दुवै उम्मेद्वारले पार्टीलाई एकढिक्का बनाएर एमालेलाई पछार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जिल्ला अधिवेशनमा भएको निर्वाचनको मतपरिणाम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै जिल्ला सभापतिमा निर्वाचित देउकुमार थेबे र उपविजेता बनेका रामबहादुर कट्टेलले त्यस्तो सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन् । जिल्ला सभापतिमा निर्वाचित थेबेलाई बधाई दिदै उपविजेता बनेका कट्टेलले आफूहरुबीच कुनै रिस राग , द्वेष , छलकपट नरहेको बताउँदै अब पार्टीलाई मजबुद बनाएर आगामी दिनमा यो मेरो होइन , हामी सबैको बनाउनेमा जोड दिए । उनले नजिकै आउन लागेको स्थानीय तहको निर्वाचनमा आफूहरुको एकता र बलले जिल्लाको १५ वटै पालिकामा निर्वाचित गराएरै छोड्ने प्रतिवद्धता जनाए । ‘हाम्रो एकताको बलले आगामी दिनमा कम्युनिष्टलाई पछार्न सक्छौं ’उनले भने ।

त्यसैगरी निर्वाचित सभापति थेबेले पार्टीका नेताकार्यकर्ताहरुले आफ्नो सिंगो टीमलाई दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गरी कहिल्यै पार्टीको शिर झुक्न नदिई शिर ठाडो पारेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अधिवेशनमा छुटेकाहरुलाई सँगसँगै हातेमालो गरी स्थानीय , प्रदेश र सघीय निर्वाचनमा विपक्षीलाई कडा टक्कर दिने उद्घोष गरे । आफू सेवक भएर जिल्लाका १५ वटा पालिका र १३१ वटा वडामा नयाँ ढंगले पार्टी सुदृढीकरण गर्नेसमेत उनले प्रतिवद्धता जनाए । कार्यक्रममा निवर्तमान सभापति उद्धव थापाले नयाँ नेतृत्वले पार्टीलाई अझ चलायमान बनाएर लैजान सकोस् भन्दै बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रमको संचालन प्रमुख निर्वाचन आयुक्त सुबोधबाबु चिलवालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्