हैन,यो चुनाव चुनाव भन्छन् के को चुनाव हो ? भनेर घरमा मलाई ममीले सोध्नु भयो । सबैको चुनाव लागेको देख्छु । कांग्रेस , एमाले ,राप्रपा के को चुनाव हो भनेर मेरो ममीले मलाई सोध्नु भयो, घरको कामले ममीलाई फुर्सद छैन । ममी मात्र हैन धेरै नेपालीहरुलाई घरको काम भ्याईन भ्याई हुने गर्दछ । खेतमा धान थन्क्याउने चटारो , बारीमा आलु रोप्ने हतारो , तोरी छरेर फलाउने ध्याउन्न । बेलुका गलेर लखतरान भएर घरमा पुगेर दिनभरिको थकान केहीबेर भएपनि सामाजिक संजालमा भुल्नु आम नेपालीको दिन चर्या नै होला । मोवाइलमा फेसवुक हेर्दा विभिन्न पार्टीको झण्डा अंकित मान्छेको फोटो देख्दा ममीलाई आश्चर्य लागेछ । नेपालको नेतृत्वमा रहेको दलहरुलाई यो बेला अधिवेशन लागेको छ । अधिवेशनले नै आफ्नो आफ्नो नेतृत्व चयन गर्ने परिपाटी यो देशको दलहरुको रहेको छ । लोकतान्त्रिक अभ्यासबाट चुनावी प्रकृयामा गएर आफ्नो पार्टीको नेतृत्व चयन गरेर नेता छान्ने नीति नियममा यो देशको दलहरुको रहेको छ । देशमा अहिले अधिवेशनको चटारो छ । नेपालको पहिलो राजनीतिक दल नेपाली कांग्रेस हो । १४आंै महाधिवेशनको थालनी नेपाली कांग्रेसले गरिरहँदा नेकपा एमालेले पनि १०आंै राष्ट्रिय अधिवेशनको थालनी गर्यो । त्यसैगरी राप्रपाले पनि आफ्नो एकता महाधिवेशन सुरु गर्यो भने माओवादीले पनि गाउँ नगरस्तरीय अधिवेशन थाल्न लाग्दैछ ।

एक नेपाली नागरिक जो राजनीतिमा चासो राख्दैन, उसलाई यो अधिवेशनको के मतलव ? केवल मतलव छ त चुनावी माहौलको ? चुनाव चुनाव भन्छन् । गाउँघरमा हुलका हुल भोट माग्दै हिडेका छन् । कांग्रेसहरु कांगे्रसका सक्रिय सदस्यहरुको घरघरमा गएका छन् । एमालेहरु पनि आफ्ना सदस्य प्रतिनिधिको घरघरमा गएर आफ्नो पक्षमा भोट मागिरहेका छन् भने राप्रपाको पनि यही तरिका छ । एक नागरिक किन मेरो घरमा भोट माग्न आएनन् भनेर अचम्ममा परिरहेका छन् । दलहरुमा चुनावको चटारो छ । नेताका नजिकको मान्छेलाई चुनावको रन्को छ । पार्टीको झन्डा बनाउन भ्याई न भ्याई छ । आफ्ना मान्छेलाई जिताउन सकस छ ।

देश बदल्नु पर्छ , पार्टी बदल्नु पर्छ ,सबै कुरा हुनु पर्छ भन्ने तर म कुनै एक व्यक्तिलाई सात पल्टसम्म प्रधानमन्त्री बनाउन सभापति बनाई राख्ने हो भने यो अधिवेशनको के मतलव † अधिवेशनले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने सोच्न जरुरी छ । हिजो राजनैतिक परिवर्तन गरियो तर अव राजनीतिमा परिवर्तन गर्न जरुरी रहेको छ भनेर अधिवेशनमा होमिएको पाउन सक्छौ ।
अधिवेशन शुरु भएसंगै विभिन्न भनाईहरु आएका छन् । सबै दलले अवको नेतृत्व युवालाई भनेका छन् । युवा, युवा भनेका छन् । परिवर्तन भनेका छन् । पुरानो नेतृत्वले छोड्नु पर्छ भनेका छन् । एउटै मान्छे कति वर्षसम्म नेतृत्वमा भनेका छन् । यो भएन भनेका छन् । त्यो भएन भनेका छन् । यसरी नै अधिवेशनको तयारी गर्दै अधिवेशनमा होमिएका छन् ।

अव हाम्रो पालो भनेका छन् तर, युवालाई प्रतिस्पर्धामा कति ठाउँमा हराइरहेका पनि छन् भने कति ठाउँमा जिताइरहेका पनि छन् । धेरै मानिसहरुको विभिन्न तर्कहरु छन् यो अधिवेशनको बारेमा । घरभित्रको प्रतिस्पर्धा हो जीत हारभन्दा पनि सक्षम नेतृत्व चुनौ भन्ने जमात पनि त्यतिकै छ । गुट, उप गुट पनि बनेकै देखिन्छ । दलहरुको आन्तरिक प्रतिष्पर्धा भएता पनि चुनावको प्रचारप्रसार हेर्दा लाग्छ विपक्षी दलसंगको प्रतिष्पर्धा हो । नेता हुने यो चुनाव पैसा नहुने त नेता हुन नसकिने तर्क पनि गर्दै थिए । चुनाव महंगो भयो भन्ने जमात पनि त्यत्तिकै छन् । आन्तरिक प्रतिपर्धा भएता पनि पैसा नै बाँडे भन्ने समुदाय पनि भेटियो । लाईनको चर्चा त झनै पाईयो । एउटा मानिस आफ्नो क्षमताले, पार्टीमा गरेको योगदानले नेतृत्वमा नपुग्ने रहेछ । लाईनको कुरा हो दायाँ वायाँ हैन भन्ने नेताको निर्देशनलाई अक्षरस पालन गरेको पाईयो । अधिवेशन हो लोकतान्त्रिक अभ्यासमा मानिसले आफ्नो अधिकार खोज्न सक्छ । आफ्नो दललाई समर्थन गर्न सक्छ तर सहमति सहकार्य र एकताबाट नेतृत्व चुन्नु अधिवेशनको मुल मर्म भएता पनि आफू र आफ्नो पक्षमा भएको बहुमतले नेतृत्व चुन्ने रहेछन् ।

एउटा दल जो अधिवेशनको नाममा शक्ति प्रदर्शन गरेको छ । यति लाख मान्छे उतारे भनेर घमण्ड गरेको छ । के अधिवेशनको मतलव मान्छे भेला पारेर शक्ति प्रदर्शन गर्ने हो र ? अनि बन्द शर्तमा नेतृत्व छान्ने बेलामा आफू आफू भेला भएर नेतृत्व छान्ने हो र ? यो चितवनको जाडो खोलाको किनारमा मान्छे भेला गरेर सहमतिमै नेतृत्व चुन्नु थियो भने हामी यतिका कार्यकर्तालाई किन बोलाको भन्ने प्रश्नसम्म कार्यकर्ताको पाईयो । दलका नेताहरुले घमण्ड गर्न बेकार छ । जनताको सेवा गर्छु भनेर नेता हुने हो । राजा बन्नलाई नेतागिरी गर्ने हैन । नेतृत्वमा जाने हैन । आम नागरिक अचम्ममा छन् दलको चर्तिकला देखेर । आज एक आपसमा त पदको लागि यति लडाई गर्छन् भने भोलि देशको लागि लड्नु पर्दा के हालत होला । मानिस किन यति धेरै पदको लागि लिप्त बन्दैछ । समाज कस्तो बन्दैछ , समाजमा कस्ता मानिसहरुको समूह राजनीतिक दलमा लाग्दैछन् , राजनीतिक दलभित्र स्वच्छ छवि , आर्थिक पारदर्शिता , र समाजसेवाको भाव भएका मान्छे लागेका छन्् त ? आम नागरिकले गम्भीर भएर सोच्न जरुरी छ । राजनीतिले समाजमा ठूलो प्रभाव राख्दछ , देश विकासमा आधार पनि राजनीतिका नेतृत्वकर्ता नै हुन् । त्यसैले आज अधिवेशनबाट नै गाउँमा ,नगरमा, क्षेत्रमा,प्रदेशमा,र संघीय संरचनामा पनि हामीले कस्तो नेतृत्व छान्दैछौ । आज हामीले छानेको नेता नै देशको नेता बन्ने हो त्यसैले सचेत रहौ , लाइन , गुट उपगुटभन्दा माथि उठेर सक्षम र स्वच्छ छवि भएका व्यक्तिलाई नेता चुनौ । यो हामी सबै दलमा आस्था राख्ने दलका कार्यकर्ताहरुले बुझन जरुरी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्