झापा, मंसीर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

हिजो उद्घाटन सत्र सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु भएको हो । पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिष्पर्धामा छन् । बन्दसत्रमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपति शम्शेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गरेका छन् ।
महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन् । अहिले ९ देखि दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।
उम्मेदवारको प्रथम नामावली दिउँसो २ बजे प्रकाशित गरिने छ । उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको निर्वाचन समितिले जनाएको छ ।
बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ । त्यसपछि मतगणना सुरू हुने छ । हिजोदेखि सुरु भएको महाधिवेशनमा देशभरिबाट झण्डै ४५ सय प्रतिनिधि सहभागी छन् । राप्रपा नेता मोहन श्रेष्ठकाअनुसार महाधिवेशनबाट पारित विधान अनुसार अब राप्रपाको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ ।
यस्तै, महाधिवेशनले गाउँ÷नगर, जिल्ला, प्रदेश तथा केन्द्र सबै तहको नेतृत्वमा दुई कार्यकाल भन्दाबढी बस्न नपाउने व्यवस्था पारित गरेको विधान संशोधन समितिका संयोजक निरञ्जन थापा जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्