झापा , मंसीर २० । नेपाली कांग्रेसको १ नं प्रदेश समितिको सभापतिमा झापा काँग्रेसका निवर्तमान सभापति उद्धव थापा विजयी भएका छन् ।

थापाले सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेलाई २ मतले पराजित गरेका हुन् । प्रदेश–१ मा कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको थापालाई समर्थन रहेको थियो । सभापतिमा थापाले ८ सय ४४ मत तथा रामचन्द्र पौडेल र शेखर कोइरालाको समर्थन रहेको गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका थिए । कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी भएका छन् । वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । प्रदेश–२ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ । प्रदेश–२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्