झापा , मंसीर २१ । लागूऔषध मुद्दामा पुर्पक्षमा रहेका भारतीय नागरिक राजकुमार सिंहको कीर्ते नागरिकता सम्बन्धी मुद्दा थाती रहेको छ ।

स्रोतका अनुसार राजनीतिक र आर्थिक दबावका कारण झुटा विवरण पेश गरी नागरिकता लिएको विषय अगाडि बढ्न नसकेको हो । सिंहले कीर्ते कागजात पेश गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएको प्रमाण फेला परेको थियो । सिंह भारतीय नागरिक भएको भारतीय प्रहरीले नै पुष्टि गरिसकेको छ । सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वडा–१० का स्थायी बासिन्दा भएको समाचार प्रकाशित भएपछि उनीबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले छानबिन गर्दै जाँदा सिंहको पुख्र्यौली सम्पत्तिसमेत भारतको भीमनगरमा रहेको प्रमाण फेला परेको थियो । नेपाल प्रहरीले छानबिन गर्ने क्रममा भारत भीमनगर ओपीमा कार्यरत सव–इन्स्पेक्टर शत्रुघनप्रसाद साहले सिंह भीमनगरको स्थायीवासी रहेको पुष्टि गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सइ जयप्रकाश साहको नेतृत्वमा राजकुमार सिंहबारे छानबिन गर्दै आवश्यक प्रमाण जुटाउन प्रहरी टोली वीरपुर पठाएको थियो । झुठा विवरण पेश गरी नागरिकता लिएको विषयमा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिए पनि राजनीतिक दबावका कारण उनको बयान अझै भएको छैन । जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११०, मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकतासम्बन्धी कसुरमा बयान कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन जिल्ला अदालत सुनसरीले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको देखिन्छ । यद्यपि सुनसरीका केही जनप्रतिनिधिको राजनीतिक दबावका कारण सप्तरी प्रहरीले मुद्दा अगाडि बढाउन नसकेको स्रोतको दाबी छ । असार १३ गते नै सुनसरी जिल्ला अदालतले नागरिकतासम्बन्धी कसुर मुद्दामा बयानका लागि पठाउन भनिए पनि अभियुक्त भनिएका सिंहको बयान नहुनुले स्रोतको दाबीमा बल पुगेको देखिन्छ ।

धरानबाट ७७ ग्राम ब्राउनसुगरसहित २०७७ मङ्सिर १९ गते पक्राउ परेका सिंहलाई जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटाउन सरकारी निकायले नै चलखेल गरेको समाचार बाहिरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट स्रोतको दाबीअनुसार ठूलो आर्थिक चलखेल गरेर छुटाउन सरकारी वकिलसहित केही निजी कानून व्यवसायीको अथक प्रयासका बावजुद जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गर्यो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साविक पकरी गाविस–२ (हाल महादेवा गाउँपालिका–१ जन्मस्थान भएको) भनी स्वर्गीय ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएकोमा त्यहाँका स्थानीयवासी भने सिंह थर गरेका व्यक्तिको सो क्षेत्रमा बसोबासै नरहेको बताउँछन् ।
सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वडानम्बर १० का स्थायी बासिन्दा हुन् भने उनका बाबुको वास्तविक नाम रामबालक सिंह हो । रामबालक सिंहको मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएका राजकुमार सिंहको नागरिकता नम्बर ०७३९३११३ रहेको छ भने जारी मिति २०४६ वैशाख १० गते हो । उनको भारतमा आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको प्रमाणसमेत फेला परेको छ । झुम्का कारागारमा रहेका सिंहको लागूऔषध मुद्दामा उच्च अदालत विराटनगरले पनि सुनसरी जिल्ला अदालतको निर्णयलाई सदर गरिदिएपछि उनीमाथि दोहोरो मुद्दा चल्ने भएपछि छुटाउन गाह्रो हुने भन्दै दोहोरो नागरिकताको मुद्दा तत्काल नचलाउन सप्तरी प्रहरीमाथि दबाव परेको स्रोत बताउँछ । दोहोरो नागरिकता लिएका भारतीय नागरिक सिंह कोसी गाउँपालिका वडानम्बर ८ भण्टाबारीकी तारा पौडेलका ज्वाइँ हुन् । पौडेल नेपाली काङ्ग्रेसकी स्थानीय नेतृ हुन् ।

सप्तरीको पकरी गाविसबाट ठाकुरप्रसाद सिंहलाई बाबु बनाएर राजकुमार सिंहले नागरिकता बनाएकोमा नागरिकतामा बाबु बनेका ठाकुरप्रसाद सिंह पनि भारत बिहारको राजजिरोगा ग्राम पञ्चायतअन्तर्गत भरफोडी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण सप्तरी प्रहरीले जुटाएको छ । ग्राम पञ्चायत राजजिरोगाकी मुखिया नूतन कुमारीले नेपाली नागरिकतामा राजकुमारका बाबु बनेका ठाकुरप्रसाद भारतीय नागरिक भएको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्