अर्जुनधारा, मंसीर २१ । राष्ट्रिय जनमुक्ति पार्टीले मंसीर २१ गतेबाट राष्ट्रिय रुपमा ‘जनता जागौं अभियान’ सुरु गरेको छ ।

यलम्वर टाईम्सको सभाहलमा पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले नेपालमा विकृति, विसंगति, बेतिथि र चरम भ्रष्टाचारले सीमा नाघ्न लागेको बताउँदै न्यायपालिका, कार्यपालिका,व्यवस्थापिकालगायतमा देखिएको बेतिथिहरुको अन्त्यको लागि ‘जनता जागौं राष्ट्रिय अभियान’ सुरु गरिएको बताए ।
पार्टी अध्यक्ष पालुङ्वाले अभियान मंसीर २१ बाट फागुन २१ सम्म पहिलो चरणमा रहेको जानकारी गराए । उनले अभियानका विषयमा जानकारी गराउँदै आफूहरुको मुख्य मुद्दा भ्रष्टाचार विरोधी भएको बताए ।
अध्यक्ष पालुङ्वाले सामान्य रुपमा आर्थिकमा मात्र भ्रष्टाचार देखिए पनि केलाएर हेर्ने हो भने राजनैतिक, नैतिक, बौद्धिकजस्ता क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको बताउँदै सोको अन्त्यका लागि राष्ट्रिय जनमुक्ति पार्टी जनतामाझ जाने जानकारी दिए ।
पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष पालुङ्वाले सत्तामा बसेका ठूला दलहरुले हरेक क्षेत्रमा भागबण्डाको आधारमा बाँडफाँड गरि आफ्ना मान्छे राखेको बताए । उनले वर्तमान समयमा न्यायलयमा देखिएको बिकृती त्यसको उदाहरण भएको बताए ।
पालुङ्वाले न्यायलय जस्तो शुद्ध ठाउँमा पनि राज्य सत्तामा रहेका ठूला दलहरुले राजनीति घुसाउँदा त्यहाँबाट कसरी न्याय पाउन सकिन्छ ? प्रश्न गर्दै अब दलहरुले त्यस्तो कुरालाई रोक्नुपर्ने सुझाव पनि दिए ।
उनले मुलुकमा हरेक क्षेत्रमा राजनीतिले प्रवेश गरेको बताउँदै लाभका पदमा रहेकाहरुले राजनीति गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले यदि राजनीति नै गर्ने हो भने जागिर छाड्नु पर्ने बताए । ‘जागिर पनि खाने, राजनीति पनि गर्ने यो हुँदैन’ उनले अगाडि भने, ‘यसो गर्दा यहाँ आर्थिक र राजनीतिक भ्रष्टाचार हुन्छ । त्यो राष्ट्रिय जनमुक्ति पार्टीले स्वीकार गर्दैन ।’
उनले यी सबै कुराको अन्त्यको लागि पहिलो चरण भ्रष्टाचारको मुद्दालाई लिएर अगाडि पार्टी जनता माझ आएको बताए ।
कार्यक्रममा सिंहदरबार गाउँमा आईपुगे जस्तै भ्रष्टाचार पनि गाउँमा आईपुगेको कारण जनता जाग्नु पर्ने बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन धिमालले ‘जनता जागौं अभियान’सँगै संगठनलाई पनि तिब्ररुपमा लैजाने जनाए ।
महासचिव पदम जवेगुले हामी निर्वाचनको सघारमा छौ भन्दै राष्ट्रिय जनमुक्ति पनि तयारी अवस्थामा रहने जानकारी दिए ।
कार्यक्रममा उपमहासचिव बिष्णु थाङ्देन, सचिव गजेन्द्र आङ्वोहाङ र महिला नेतृ मीना पन्धाकलगायतको उपस्थिति रहेको थियो । पार्टी प्रदेश अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सञ्चालन कृष्णकुमार थेवेले गरेका थिए ।