बिर्तामोड, मंसीर २१ । चिया श्रमिकहरुको समस्याप्रति स्थानीय तह जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

चिया श्रमिकहरुको न्यूनतम ज्यालालगायतका समस्याप्रति स्थानीय तहले वास्ता नगरेपछि उनीहरुले गुनासो गरेका हुन् । मानव अधिकार एलाइन्स झापाको आयोजनामा मंगलवार बिर्तामोडमा भएको चिया श्रमिकहरुको न्यूनतम ज्याला प्रावधान र कार्यान्वयन अबस्था विषयक बहुसरोकारवालासंगको अन्तरसंवाद कार्यक्रमका सहभागीहरुले चिया श्रमिकहरुको समस्या समाधान गर्न धेरै प्रतिवद्धता आएपनि त्यसको कार्यान्वयन नभएको बताए । ‘प्रतिवद्धता धेरै छन् तर , कार्यान्वयन भएको छैन ’ उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै प्रदेश सांसद जसमाया गजमेरले चिया श्रमिकहरुको समस्या प्रतिवद्धता तहमा कति पुग्यो कति कार्यान्वयन भयो त्यसलाई समीक्षा गर्नुपर्ने बताइन् । उनले ऐन कानुनलाई व्यवस्थित बनाएर चिया श्रमिकहरुको समस्यलाई दिगो रुपमा समाधान गरिनुपर्नेमा जोड दिइन् ।कार्यक्रममा सहभागी चिया श्रमिकहरुले आफूहरुले विभिन्न समस्या लिएर स्थानीय तहमा जाने गरे पनि सुनुवाई हुने नगरेको बताएका थिए । चिया श्रमिकहरुको बढेको न्यूनतम दैनिक पारिश्रमिक रु ४१५ पुगेकोमा सबै चिया बगानहरुले त्यसलाई कार्यान्वयन नगरेको बताए । उनीहरुले आफूहरुको अबस्था नाजुक रहेको र जीवनयापन , शिक्षादीक्षा , स्वास्थ्यलगायतमा समस्या रहेको जानकारी दिएका थिए । कार्यक्रममा एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदी , केन्द्रीय सचिव देवेन्द्रकुमार विश्वकर्मा , गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य छविलाल खतिवडा , झापा अध्यक्ष हरि गौतम , नारी कल्याण समाजका अम्बिका घिमिरे , विराट सामुदायिक अध्ययन केन्द्रका महेन्द्र कार्की , एकेन्द्र उप्रेती , नेपाल बाल संगठनका रोशन लामा , चेतना निरौला , लोकमाया ढुंगाना , नारी संचार गृहका भीमा शिवाकोटी , चिया मजदुरहरु राधिका कट्वाल , नारायण दर्जी , गान्धी उराउलगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रेमा भट्टराईले चिया श्रमिकहरुको समस्याका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको संचालन एलाइन्सका झापा अध्यक्ष रुद्र सिटौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्