झापा , मंसीर २५ । बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा परी भेन चालक सोही पालिका वडा नं १ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको हो । आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नं को बस र विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ नं को भ्यान एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका भ्यान चालक उप्रेतीको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते हुनेहरु वडा नं १ कै ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्