बिर्तामोड , मंसीर २६ । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी डिकमान सुनुवार विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को झापा शाखाले प्रदान गर्दै आएको २५ हजार राशिको डिकमान सुनुवार विरही उत्कृष्ट पत्रकारिता पुरस्कार सम्पादक राजवंशीलाई प्रदान गरिएको हो ।

अर्जुनधारा ३ स्थित कैदले पर्यापर्यटन क्षेत्रमा हिजो आयोजित फोनिज झापा शाखाको छैटौं अधिवेशनमा गत वर्ष २०७७ का लागि राजवंशीलाई फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गजुरधन राई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए । त्यस्तै गत वर्षको उदीयमान पत्रकारिता पुरस्कार रेडियो हिमशिखरकी कार्यक्रम प्रस्तोता मीना नेम्बाङ र सूर्योदय टेलिभिजनकी कार्यक्रम प्रस्तोता सुभला तामाङलाई प्रदान गरिएको छ । त्यस पुरस्कारको राशि जनही ५ हजार रहेको छ ।

त्यस्तै यस वर्षको डिकमान सुनुवार विरही उत्कृष्ट पत्रकारिता पुरस्कार हरप्रहर न्यूज डटकमका सम्पादक कमन देवानलाई प्रदान गरिएको छ । त्यस पुरस्कारको राशि पनि २५ हजार रहेको छ । त्यस्तै यस वर्षको उदीयमान पत्रकारिता पुरस्कार यलम्बर टाइम्सकी समाचार प्रमुख लीला राई र माङ्सेबुङ न्यूज डटकमका सम्पादक डिल्लीश्वर मुसाहाङ लिम्बूलाई प्रदान गरिएको छ । उनीहरुले ५–५ हजारको नगद राशि र सम्मान पत्र पाएका छन् ।

फोनिजका झापा अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राई, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख राना,प्रेस युनियनका झापा अध्यक्ष इन्दु पुर्वेली, प्रेस चौतारीका प्रदीप परियार , प्रेस क्लब अर्जुनधाराका कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा डिकमान विरहीको जीवनीबारे रमेश समदर्शी र पुरस्कृत व्यक्तित्वहरुको बारेमा भूमिका सुब्बाले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्