बिर्तामोड , मंसीर २७ । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २१औं वार्षिक साधारणसभाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमार्फत संस्थाका अध्यक्ष टसबहादुर प्रधान, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, सञ्चालक सदस्यहरु गणेशप्रसाद पराजुली र गुञ्जन थापाले प्रतिवेदन सार्वजनिक गरेका हुन् । संस्थाले आगामी पुष १ गतेदेखि २१ गतेसम्म इकाईगत साधारणसभा सञ्चालन गर्ने कार्यतालिका बनाएको छ । त्यसका लागि हरेक सदस्यका हातमा सोभन्दा पहिले नै सोमवारदेखि वार्षिक प्रतिवेदन पुर्याउने योजना बनाइएको अध्यक्ष टसबहादुर प्रधानले बताए । इकाइगत साधारणसभाबाट तीन–तीन जनाका दरले माइन्युट प्रमाणीकरण गर्ने प्रतिनिधि चयन गरी पुष २५ गते साधारणसभा सम्पन्न गर्ने तालिका सार्वजनिक गरिएको छ ।
प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८को असार मसान्तमा संस्थाले ३९ हजार ८६९ जना शेयर सदस्य बनाउन सफल भएको तथा ३५ करोड ८४ लाख ५३ हजार रुपैयाँ शेयरपुँजी पुर्याएको उल्लेख छ । संस्थाको बचत एक अर्ब ५१ करोड १६ लाख २० हजार ३७६ रुपैयाँ छ भने लगानीमा रहिरहेको कर्जा दुई अर्ब ८० करोड ८६ लाख २९ हजार ७८४ रुपैयाँ पुर्याइएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाले नौ करोड ५७ लाख ४६ हजार ६८७ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । सोबाट नियमित रुपमा बचत तथा कर्जाको कारोबार गर्ने सदस्यहरुले योगदानका आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट ५ प्रतिशत पाउने छन् भने सबै शेयर सदस्यहरुले शेयर लाभांश वापत ९ प्रतिशत प्राप्त गर्ने अध्यक्ष प्रधानले बताए ।
संस्थाका अध्यक्ष प्रधानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सञ्चालक समिति सदस्य थापाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्