झापा , मंसीर २७ । बाह्रदशी गाउँपालिकाले ६ जना विद्यालय कर्मचारीलाई सामान्य अनुदान दिएर कामबाट निकालेको छ ।

वर्षौदेखि सेवारत ती कर्मचारीहरु उमेर हदका कारण सेवानिवृत हुँदा गाउँपालिकाले दिएको अढाई लाख अनुदान रकमप्रति असन्तुष्ट देखिएका छन् । यसरी कामबाट हटाइनेहरुमा कटरडाँगी आधारभूत विद्यालय बाह्रदशी ५ का कार्यालय सहयोगी नरनारायण काफ्ले , पशुपति मावि बाह्रदशी ३ का कार्यालय सहयोगी प्रेमलाल राजवंशी , सोही विद्यालयका विद्यालय कर्मचारी मोहितलाल कामती , जनविकास मावि बाह्रदशी ४ का कार्यालय सहयोगी पूर्णप्रसाद उप्रेती , वडा नं ७ स्थित पशुपति आधारभूत विद्यालयका कार्यालय सहयोगी फत्तेबहादुर खड्का र वडा नं ५ स्थित फूलबारी माविका कार्यालय सहयोगी कुमार रिजाल रहेका छन् । केही दिनअघि बसेको गाउँपालिकाको कार्यपालिका बैठकले उनीहरुलाई सेवामुक्त गर्ने निर्णय गरेको हो । आफूहरुलाई स्वेच्छिक अवकाश पत्र हातमा थमाएर जबर्जस्ती कामबाट निस्काशन गरिएको कटरडाँगी आधारभूत विद्यालयका कार्यालय सहयोगी काफ्लेले बताए । मंसीर महिनादेखि तलब नदिने भनेर आफूहरुलाई निकालिएको उनले बताए । कटरडाँगी आधारभूत विद्यालयमा ४० वर्षदेखि कार्यरत काफ्ले भन्छन् ‘ यही विद्यालयमा जिन्दगी सर्वस्व सुम्पियौं अहिले छोड्ने बेलामा अढाई लाख ! त्यसले बुढेसकालमा के हुन्छ ?’ कान नसुन्ने र आँखा नदेख्ने ७० वर्षिय काफ्लेले ४५० दिनको सन्चित विदाको रकम समेत नपाएको गुनासो गरे ।
कटरडाँगी आधारभूत विद्यालयमा विगत ४० बर्षदेखि कार्यरत काफ्ले ( काफ्ले सर ) कुनै समयमा थर्ड सरले परिचित थिए । ‘४० बर्ष घण्टी बजाएर कान नै कमजोर भईसकेको कर्मचारीलाई जम्मा २ लाख पचास हजार दिएर निकाल्नु अन्याय भएन र ?’ पूर्व विद्यार्थी दिपेन याक्थुम्बा प्रश्न गर्छन् , ‘उमेर र बैस हुन्जेल सेवा गरेर जिन्दगी बितिसक्यो, न पानी नझरी न बाढी खोला नभनी टाइममा आउनुहुन्थ्यो कति जोखिम मोल्नु भएको थियो । अहिलेको महँगीमा अढाई लाखले के हुन्छ ?’कामबाट निकालिएका ती कर्मचारी र उनीहरुको परिवारको जिविकोपार्जनको बारेमा गाउँपालिका उदासिन बनेको उनले आरोप लगाए ।
त्यस विषयमा बाह्रदशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले ती कर्मचारीहरुलाई आफूहरुले राम्रो संबोधन गरेको प्रतिक्रिया दिए ।‘उहाँहरुको गुनासो आउनु स्वाभाविक हो , रकमको हिसाबले कमै हो ’ उनले भने ,‘ सकेसम्म हामीले संबोधन गरेका छौं ।’ स्थानीय तहले नियुक्ति नगरेका ती विद्यालय कर्मचारीहरुलाई खाली हात घर पठाउनु मनासिव नदेखेर गाउँपालिकाको तर्फबाट केही न केही संबोधन गरेको उनको भनाई छ । विद्यालयले नियुक्ति गरेका ती कर्मचारीका लागि सम्बन्धित विद्यालयले पनि संबोधन गर्नुपर्ने उनले बताए ।