बिर्तामोड , मंसीर २७ । झापाको गरामनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकअन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको हो । बिर्तामोडको ७,८,९ र १० नम्बर वडाका सर्वसाधारण,जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा बिर्तामोड ८ को सामुदायिक भवनमा झापा युनेस्को संघ नेपालको संयोजनमा कार्यक्रमको आयोजना गरिएको थियोे ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई बिर्तामोड नगरपालिकाका नगरप्रमुख धु्रवकुमार शिवाकोटी,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल र बिर्तामोड नगरपालिका वडा नम्बर ९ की वडाध्यक्ष पवित्रा पाठकले उत्तर दिएका थिए । कार्यक्रममा सहभागीहरुले टोल विकास संस्थाको काम,कर्तव्य र अधिकार,विकास योजना,शिक्षा खेलकुद,जनता आवास,फोहोर मैला,सडक बत्तीलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर्दै आएको बताए । टोल विकास संस्थाहरुलाई काम,कर्तव्य र अधिकारको विषयमा तालिम आवश्यक रहेकाले यो काम गर्ने बताए । उनले टोल विकास संस्थाहरुलाई वडाको प्रत्यक्ष निगरानीमा सक्रिय बनाउनु पर्नेमा जोड दिए । जनता आवासका कार्यक्रमहरु त्यसैको विधिअनुसार सम्पन्न गर्नुपर्ने भएकाले यो कामलाई निरन्तरता दिन र जतिसक्दो चाँडो सम्पन्न गर्न पनि उपभोक्ता समितिहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले बिर्तामोड नगरपालिकालाई प्लाष्टिक झोला मुक्त बनाउन सकिने धारणा राखे । सहभागीहरुको जिज्ञासामा उनले नगरवासीहरु सबैले यस विषयमा आवाज उठाउन सके सम्भव रहेको बताए । प्लाष्टिक झोला मुक्त नगर बनाउँदा मात्रै पनि ४० प्रतिशत फोहोर न्यूनीकरण हुने उनको भनाई थियो ।प्रमुख प्रशासकीय अधिकृत दाहालले नगरको सीमित श्रोत र साधनका बीच पनि धेरै काम गर्न सफल भएको भन्दै अवका दिनमा पनि नगरपालिकाको हितको लागि सक्रिय भएर काम गर्ने कुरामा प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट शक्तिलाल भट्टराई,रणबहादुर थापा,गौरीप्रसाद घिमिरे,रोहित ओली,टंकप्रसाद आचार्य,चन्द्र राई,विष्णुमाया अधिकारी कोइराला,पर्शुराम भट्टराईलगायतले जिज्ञासा राखेका थिए । नगरप्रमुख शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनेस्को संघ नेपालका अध्यक्ष विजय तिम्सिनाले सहजीकरण गरेका थिए । कार्यक्रममा नगरपालिकाका कर्मचारी मेघराज बाँस्तोला,जनप्रतिनिधिहरु दिपक भट्टराई,संगीता सिवा, गंगा राजवंशी,लक्ष्मी नेपाली, युनेस्को संघ नेपालका सचिव अनिल गौतमलगायतको उपस्थिति रहेको थियो ।