सपना आचार्य,
ईलाम , मंसीर २७ ।संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले वर्तमान संबिधान जनताले निर्माण गरेको हुँदा लोकतान्त्रिक रहेको बताएका छन् ।

उनले नेपाली जनताको श्रोतबाट बनाएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत सबै कुरा समेटिएको हुँदा जनता अधिकारसम्पन्न भएको दावी गरे ।सोमबार कृष्ण माध्यमिक विद्यालय माई–५ थाक्ले ईलामको ५० औ बार्षिक उत्सव स्वर्ण जयन्ती समारोहमा बोल्दै अध्यक्ष नेम्वाङले राजनीतिक लडाई अब आबश्यक नभएकाले अबको गन्तव्य ‘समृद्ध नेपाल सुखी नेपाली’ भएको बताए ।

विकास निर्माणको प्रसंग औल्याउँदै नेम्बाङले केचना–कन्चनजंघा सडक, मदन भण्डारी राजमार्ग, गैंडे–महमाई–राँके सडक माई नगरपालिकालाई मेरुदण्ड बनाएर निर्माण हुँदै गरेको, दमक–रबि सडक २ अर्ब २० करोडमा निर्माण हुँदै गरेको, राँके –रबि–भेडेटार सडक ६ अर्बमा आगामी तीस महिनामा सम्पन्न भईसक्ने र आगामी तीन वर्षसम्ममा विकासले ठूलो फड्को मार्ने दावी गरे । प्रमुख अतिथि नेम्वाङले विद्यालय परिसरमा नवनिर्मित ‘स्वर्ण जयन्ती स्मारक’को उद्घाटन समेत गरे ।
अर्का वक्ता नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्थानीय विपन्न दुई सय परिवारलाई २ करोडको स्वास्थ्य बिमा गरिदिने घोषणा गर्दै सामाजिक कार्यअन्तरगत बिभिन्न विद्यालयलाई सहयोग गरिरहेकोमा आगामी बर्ष कृष्ण माविलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वर्ण महोत्सव समारोहमा ईलामका प्रदेश सांसद काजीमान कागतेले आधुनिक शिक्षा प्रदान गर्नेगरी विद्यालयलाई प्रदेशबाट सहयोग गरिने जानकारी दिए। विद्यालयका जग्गादाताहरु स्वर्गीय भवानीदास राई र स्वर्गीय प्रमाणदास राईको योगदानको चर्चा गर्दै उनीहरुका सन्ततिहरु जीतमान राई, दलुदास राई र लच्छीमाया राईसँगै दाता, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी सय जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक बलराम समालले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए । सोही कार्यक्रममा हाल पक्षघातका कारण उपचाररत् स्थानीय नेत्रदास राईलाई विदेशमा रहेका रतन राईले उपचारको लागि पठाएको नौ हजार तीन सय रुपैयाँ प्रमुख अतिथिमार्फत उपलब्ध गराइएको थियो ।

शिक्षिका अञ्जना राईले विद्यालय स्थापनादेखि हालसम्मको अवस्थाबारे जानकारी गराएको कार्यक्रममा रोमबहादुर राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सोफिया लिम्बूले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्