सुरेश आले ‘सर्जु’
बिर्तामोड । हाल चलचित्र निर्माण हुने क्रम घट्दो छ । चलचित्र निर्माणको क्रम सुस्त हुँदा कलाकारहरु मारमा परेका छन् । यो मार खपेको निकै भयो । चलचित्र निर्माणको क्रम सुस्ताउँदा हाल चलचित्रका कलाकारहरु जीवन गुजारा गर्न नसकेर बिभिन्न पेशा अँगाल्न बाध्य छन् । यस्तै चलचित्र क्षेत्रसंग सम्बद्ध झापाका राजवंशी कलाकार ओम राजवंशी मारमा परेका हुन् । चलचित्रको पारिश्रमिकले गुजारा गर्न छाडेपछि उनले आफ्नै गाउँ बिर्तामोड ९ टाँगाबारी टोलमा कुखुरा पालेर गुजारा गरिरहेका छन् ।

२०७१ सालमा राजवंशी भाषाको कथानक चलचित्र ‘सितार सिन्दुर’मा नायकको साथीको भूमिकामा पहिलोपटक अभिनय गरेका ओमले राजवंशी भाषालगायत नेपाली भाषाका थुप्रै चलचित्रमा अभिनय गरेका छन् । २०७१ सालमा निर्देशक होमनारायण राजवंशीको निर्देशनमा राजवंशी भाषाको चलचित्र ‘सितार सिन्दुर’मा नायकको साथीको भूमिकामा अभिनय गरेपछि उनले २०७२ सालमा सुर्जापुरी भाषाको चलचित्र ‘आपुन हाल पर’ र ‘ग्रिटीङ कार्ड’ जस्ता चलचित्रमा सहखलनायकको भूमिकामा अभिनय गरे । २०७२ सालमै उनले नेपाली कथानक चलचित्र ‘सुखानी सहादत’मा चर्चित खलनायक सुशिल पोखरेलसंग सहखलनायकको भूमिकामा अभिनय गरे । त्यसैगरी २०७३ सालमा ठूलो पर्दाको नेपाली कथानक चलचित्र ‘मधुमाला’ र २०७४ सालमा नेपाली कथानक चलचित्र ‘रेस’मा सहखलनायकको भूमिकामा अभिनय गरे । २०७५ सालमा दुईवटा राजवंशी भाषाको चलचित्र ‘तोहरे याद’ र ‘कर्मेर लेखी’ , २०७८ सालमा निर्माता पूर्ण राजवंशी र निर्देशक गजेन्द्र राजवंशीको राजवंशी भाषाको चलचित्र ‘भाई भाई’मा खलनायकको भूमिकालगायत अन्य धेरै चलचित्रमा अभिनय गरेका छन् ओमले ।

प्राय संवादविहीन र क्राउड सिनमा देखिने ओम चलचित्रका द्वन्द्व कलाकार हुन् । २०४३ साल आषाढ १८ गते बुवा घेरालाल राजवंशी र आमा दुःखनी राजवंशीको कोखबाट बिर्तामोड ९ टाँगाबारी टोलमा जन्मिएका उनी दुई दाजुभाइ र पाँच जना दिदीबहिनीमध्ये जेठा छोरा हुन् । उनले दुर्गा मावि गरामनी र महेन्द्र रत्न मावि अनारमनीमा अध्ययन गरेर एस. एल. सी. गरी मनकामना कलेज बिर्तामोडबाट बिएडसम्मको अध्ययन गरेका छन् । उनी राजवंशी चलचित्र उत्थान केन्द्र झापाका सचिव समेत हुन् ।

वास्तवमै हालको अवस्थामा मोफसलका कलाकारले चलचित्रमा अभिनय गरेको पारिश्रमिकले गुजारा गर्न नसकिने ओम बताउँछन् । चलचित्र निर्माण सुस्ताउँदा बाँच्न गाह्रो भएको उनको भोगाई छ । चलचित्रको कमाईले नपुगेरै उनले कुखुरापालन शुरु गरेको बताए । ‘चलचित्र त अहिले सोख र फुर्सदमा अभिनय गर्ने क्षेत्र मात्र बनेको छ , व्यवसायिक बन्न र गुजारा गर्न कठिन छ’ उनले भने । विवाहित कलाकार ओमको साथमा श्रीमती शोभा राजवंशी र ४ महिनाका छोरा प्रियांशु राजवंशी र छोरी ६ वर्षकी प्रिया राजवंशी छन् ।

ओमले २०७६ पुष ३ गतेदेखि आफ्नै निजी ६ कठ्ठा जमिनमा कुखुराको खोर निर्माण गरी एक हजार कुखुरा अट्ने क्षमताको कुखुराको फार्म संचालन गरेका छन् । बोटबिरुवा र चिटिक्क परेको खोर निर्माण गरी एकजना कामदारलाई रोजगार दिएका छन् । एक हजारवटा लोकल कुखुराबाट कुखुरा पाल्न शुरु गरेका ओमले बर्षेनि कुखुराको सँख्या बढाउँदै लगेको सुनाए । हाल लोकल कुखुरा र परीक्षण लागि बट्टाई चरा समेत उनका फार्ममा हुर्कदैछ । खर्च कटाएर बार्षिक ६० हजारसम्म आम्दानी गरेका ओमको अब ८० हजार कमाउने योजना छ । यही आम्दानीले घर ब्यबहार चलाउन सहज भएको उनी बताउँछन् ।

६ फिट ६ इन्च उचाई र मंगोल अनुहारका ओम साँच्चै जिवन्त अभिनय गर्ने द्वन्द्व कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र हेर्दा उनको अभिनय जिवन्त लाग्छ । चलचित्रमा कपाल पालेर र कपाल नपाली बिभिन्न गेटअपमा उनले सहखलनायक र खलनायकको भूमिकामा अभिनय गरेका छन् । आफ्नो अध्ययन प्रमाणपत्रले शिक्षण पेशाको अनुमति पाए पनि उनले अहिलेसम्म शिक्षण पेशा अँगालेका छैनन् । उनका भाइ संकृतलाल राजवंशी भने सरस्वती मावि भद्रपुर २ का शिक्षक हुन् । ७६ केजी तौल भएका हट्टाकट्टा ओम भने कृषिकर्म र कुखुरापालनसंगै अभिनय गर्ने मुडमा अझै छन् । आगामी दिनमा कलाकार ओमले अझै धेरै चलचित्रमा अभिनय गर्ने, मेजर फाईभको रोलमा आफ्नो क्षमता अभिबृद्धि गर्ने, नेपालीलगायत आफ्नो जातीय भाषाको चलचित्र निर्माण र चलचित्रकै प्रबद्र्धन गर्ने योजना रहेको सुनाए । चलचित्र क्षेत्रका पूर्ण राजवंशी, होमनारायण राजवंशी, अमरिश पुरी,सुशिल पोखरेललाई आदर्श ब्यक्ति मान्ने कलाकार ओम भने हाल कुखुरापालन गरेर गुजारा गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्