बिर्तामोड , पुष ३ । झापामा २२ औं अन्तर्राष्ट्रिय कामदार दिवस मनाइएको छ ।

यस अवसरमा झापाको बिर्तामोडमा सरोकारवालाहरुबीच सुरक्षित र मर्यादित बैदेशिक रोजगार विषयमा अन्तरक्रिया गरिएको छ ।
झापामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रको आयोजनामा शनिबार भएको अन्तरक्रिया कार्यक्रममा मुख्य रुपमा खाडी मुलुकहरुमा रोजगारीमा जाने नेपाली युवाहरुले भोग्दै आएका समस्या तथा वैदेशिक रोजगारीमा जानुपूर्व अपनाउनुपर्ने सावधानीहरुका बारे चर्चा गरिएको थियो ।

परियोजना संयोजक फणिन्द्रप्रसाद दाहालले अन्तर्राष्ट्रिय आप्रवासन दिवसबारे जानकारी गराउँदै नेपालमा यो क्षेत्रमा रहेका नकारात्मक र सकारात्मक पक्षबारे अवगत गराए । यसमा रहेका नकारात्मक पक्षलाई न्यूनीकरण गर्न सुरक्षित आप्रवासन परियोजनाले गर्दै गरेका कार्यबारे जानकारी गराएका थिए । उनले ७५ प्रतिशतभन्दा बढी अदक्ष कामदारहरु बैदेशिक रोजगारीमा जाने गरेको बताउँदै नेपालीहरुले श्रम होइन सीप बेच्न बिदेश जानुपर्नेमा जोड दिए । त्यस्तै मेची क्याम्पसका सह–प्राध्यापक विनोद गौतमले नेपालमा वैदेशिक रोजगारीको ऐतिहासिकता, यसका अन्तरनिहीत पक्षको विश्लेषण गर्दै वैदेशिक रोजगारीमा जान चाहनेले सीप तथा वित्तीय साक्षरताको ज्ञान लिनुपर्ने बताए । उनले पासपोर्टभन्दा सीप पहिला भन्ने सोचको विकास गरिनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख तथा स्थानीय तह परियोजना व्यवस्थापन समितिका संयोजक जीवनकुमार श्रेष्ठले सामी परियोजनाले वैदैशिक रोजगारमा देखिएका विकृति न्यूनीकरण गर्न उल्लेख्य भूमिका खेल्दै आएको बताए ।
कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन परियोजनाबीचको सहकार्य र यसको प्रभावकारीताबारे चर्चा गर्दै टोलटोलसम्म सूचना पुर्याउन आवश्यक रहेको बताए ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख उमानाथ ओली , प्राध्यापक होम सिटौला , नेपाली कांग्रेसको झापा क्षेत्र नं २ प्रदेश क सभापति लक्ष्मी आचार्य , नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कृष्ण बिमलीसमेतको सहभागिता रहेको कार्यक्रम विराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता र सचिव रुद्र सिटौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सुरक्षित आप्रवासन परियोजना नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय कार्यक्रम हो । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तहहरूको कार्यान्वयनमा ३९ जिल्लाका १५६ स्थानीय तहमा यो परियोजना संचालित छ । यो परियोजना विगत दुई वर्षदेखि झापाको भद्रपुर, मेचीनगर, दमक नगरपालिका र गौरीगंज गाउँपालिकामा प्रत्यक्ष रूपमा संचालित छ भने विराट सामुदायिक अध्ययन केन्द्रले सहजीकरण गरिरहेको यो परियोजनालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ ।
यो परियोजना सञ्चालन भएपछि झापामा १२ हजार ७२० जनालाई परामर्श प्रदान गरिएको छ भने ठगीका १२९ घटनाको उजुरी प्राप्त भएको र ७६ जनालाई रकम फिर्ता गराइएको संयोजक दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्