बिर्तामोड , पुष ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अब पार्टी नफुट्ने बताएका छन् ।

शनिबार राप्रपा जिल्ला कमिटीद्वारा बिर्तामोडमा आयोजित बधाई तथा शुभकामना एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला झापा आएका लिङ्देनले अझै पनि पार्टी फुट्ला कि भन्ने चिन्ता गर्नेहरुतर्फ संकेत गर्दे भने, ‘अब यसलाई फुटाउने ठाउँ पनि छैन र फुटाउने ताकत पनि कसैसँग छैन ।’ उनले पहिरो जाने ठाउँमा पनि बग्दा बग्दा बग्ने चिजै सकिएपछि अब के बग्छ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि फुट्दा फुट्दा फुट्ने ठाउँ नै सकिएको दाबी गरे ।

उनले आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा आएको मान्छे नभएको बताए । लिङ्देनले आफू कांग्रेस कम्युनिष्टलाई पनि मिलाएर हिड्ने मान्छे, हिजो आफूलाई भोट नदिने हजारौंलाई राप्रपामा प्रवेश गराएर आफ्नो बनाएर हिड्न सक्ने मान्छे, राप्रपाको आन्तरिक चुनावमा कसले मलाई भोट दियो दिएन भनेर आफू हेरेर नबस्ने बताए ।
उनले भने ‘त्यो सकियो त्यसैदिन सकियो त्यसलाई बोकेर त्यसलाई केलाएर हिड्ने छुट मलाई छँदै छैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफूले आमूल परिवर्तन गर्ने भन्दै लिङ्देनले काम नगरिकन कोही नेता हुन नपाउने व्यवस्था आफूले गर्ने उद्घोष गरे । आफू पनि काम गर्ने र अरुले पनि उपरखुट्टी लगाएर बस्न नपाउने अध्यक्ष लिङ्देनको भनाई थियो ।

‘अब सबको फाइल खडा हुन्छ सबले के काम गर्ने भन्ने जिम्मेवारी छुट्याइन्छ त्यस अनुसार काम गर्ने नेता कोहि पछाडी पर्दै पर्दैन’उनले भने ।सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय जना नेताकार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष लिङ्देनले खदा र अविर लगाउँदै सदस्यता दिलाएका थिए । कार्यक्रममा पार्टीका प्रदेश नं १ अध्यक्ष राम थापा, नवनिर्वाचित केन्द्रीय सदस्य सगुन लावती, डा. राजेश गिरी निवर्तमान झापा जिल्ला अध्यक्ष अम्बर बिष्ट, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष राजकुमार राईलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्