झापा , पुष ७ । सशस्त्र प्रहरीले अवैध शंकास्पद भारतीय रुपैयाँ र प्रतिबन्धित औषधिसहित पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँचथर फिदिम १ चौतारेडाँडा स्थायी ठेगाना भई हाल बिर्तामोड बस्ने २७ वर्षिय सरोज लावती, फिदिम १ पल्लोटार स्थायी ठेगाना भई हाल बिर्तामोड बस्ने २४ वर्षिय विवश खवास,. फिदिम १ पल्लोटार स्थायी ठेगाना भई हाल बिर्तामोड बस्ने २१ वर्षिय बिरबहादुर राई, मेचीनगर १० ढाट बस्ने २६ वर्षिय अनुप राजवंशी र सोही ठाउँका २५ वर्षिय राजा उराव रहेका छन् ।
बुधबार दिउँसो ३ बजे मेचीनगर नगरपालिका वडा नं. ६ कालीमन्दिरस्थित नेपाल–भारत सीमा स्तम्भ नं. ८८।७ दशगजा सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापा मातहत विओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित औषधी अल्प्राजोलाम पीएएजेड ५ स्ट्रिप्स (६३ चक्की), भारतीय नगद चौरानब्बे हजार आठ सय साठी, नेपाली नगद चार सय तीस र मोवाइल एक थान बरामद भएको थियो । उक्त भारतीय रुपैयाँ र लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिएका छन् ।