बिर्तामोड, पुष ८ । प्राविधिक कारणले यही आज पुष ८ गतेदेखि हुने भनिएको तमु ल्होसार गोल्डकप महिला अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिता पुष १० गतेबाट हुने भएको छ ।

आयोजक बिर्तामोड फुटबल क्लबका अनुसार उद्घाटनको दिन आयोजक र भारत कालिम्पोङको श्री फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो दिन मोरङ पथरी शनिश्चरे महिला फुटबल क्लबले भारत सिलिगुडीको रोयल स्पोर्टिङ फुटबल क्लबको सामना गर्नेछ ।
पुष १२ गते उद्घाटन खेलको विजेतासँग धरान महिला फुटबल क्लब सुनसरीले खेल्नेछ । पुष १३ गते दोस्रो दिनको विजेतासँग पाँचथरको श्री सिंह सिद्धदेवी ङोलो क्लब भिड्नेछ । प्रतियोगितको फाइनल खेल तमु ल्होसारको दिन पुष १५ गते हुने अध्यक्ष डिके गुरुङले बताए ।

प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ । दोस्रो संस्करणको प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा २०७६ सालबाट प्रतियोगिता आयोजना हुँदै आएको छ । गत वर्ष भने कोभिडका कारण भएको लकडाउनले प्रतियोगिता प्रभावित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्