झापा , पुष ८ । पूर्वमन्त्री केशवकुमार बुढाथोकी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खस आर्यतर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर उनी निर्वाचित भएका हुन् । ७ जना पुरुष र ६ महिलाका लागि भएको निर्वाचनको अन्तिम परिणाम बिहीबार साँझ सार्वजनिक भएको हो। पुरूष ७ र महिला ६ जनामा एक÷एक जनाबाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। पुरुषतर्फ केशवकुमार बुढाथोकी (२०५४), गोविन्दबहादुर शाह (२०१४), भीम पराजुली (१९१४), मधु आचार्य (१८६०), श्यामकुमार घिमिरे (१८५२), नारायण बहादुर कार्की (१७९६) र गेहेन्द्र गिरि (१६६५) मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै महिलातर्फ मञ्जु खाणले सर्वाधिक मत पाएकी छिन्। उनी गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती हुन्। निर्वाचित हुनेमा नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिना छन्। प्रतिमा गौतमबाहेक सबै सभापति देउवा प्यानलका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्