बिर्तामोड , पुष १० । बिर्तामोड ७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट अध्यक्षमा बद्री प्याकुरेल निर्वाचित भएका छन् ।

गएराति सम्पन्न मतगणना अनुसार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सयुक्त प्यानलबाट उम्मेद्वारी दिएका प्याकुरेलले ५९ मतको अन्तरले विजयी हासिल गरेका हुन् । उनले ३८८ मत ल्याउँदा उनका प्रतिष्पर्धी कृष्णप्रसाद लिम्बुले ३२९ मत ल्याएका छन् । लिम्बुले नेपाली कांग्रेस र माओवादीको तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका थिए । त्यस्तै प्याकुरेल प्यानलका तर्फबाट उपाध्यक्षमा अनिल गदाइली ४०६ मतले विजयी भएका छन् । उनका प्रतिष्पर्धी ,सोमनाथ घिमिरेले २९८ मत पाएका छन् ।

त्यस्तै सचिवमा सोही प्यानलकी दिलमाया मादेन विजयी भएकी छन् । उनले ३८४ मत ल्याउँदा अर्को प्यानलकी उम्मेद्वार सचिव इन्दिरा अधिकारीले ३१० मत हासिल गरेकी छन् । पदाधिकारी सबैमा एमाले र राप्रपाको प्यानलले जित हासिल गरेको छ भने केही टोल सदस्यमा कांग्रेस र माओवादीको प्यानलले विजयी हासिल गरेको जनाइएको छ । एमाले र राप्रपाको प्यानलले घडी तथा कांग्रेस र माओवादीको प्यानलले चश्मा चिन्ह लिएर चुनाव लडेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्