बिर्तामोड , पुष ११ । शिक्षा र चेतनाको हिसाबले पछि परेका मुसहर समुदायका महिलाहरुलाई बिर्तामोड नगरपालिकाले लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण दिएको छ ।

हिंसामा बढी परेका ती समुदायमा हिंसा न्यूनीकरणका लागि नगरपालिकाले मुसहर बस्तीमै पुगेर प्रशिक्षण दिएको हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सचेतनामूलक कार्यक्रम गरिएको हो । मंसिर ९ देखि मंसिर २४ गतेसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान रहेको थियो । यसअघि नै कार्यक्रम गर्ने तालिका बनाइएपनि प्राविधिक कारणले गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
बिर्तामोड ३ स्थित अधुवा खोलाको बगरमा रहेको मुसहर बस्ती र बिर्तामोड १० विराटपोखर स्थित मुसहर बस्तीका महिलाहरुलाई लैङ्गिक हिंसाका विषयमा प्रशिक्षण दिइएको थियो । बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य तथा वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाको बिशेष आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाकी महिला विकास शाखा प्रमुख पुष्पा कार्की र न्यायिक समितिकी अधिकृत टीका लामिछानेले प्रशिक्षण दिएका थिए । विपन्न समुदायका मुसहरहरु हरेक क्षेत्रमा पछि परेका छन् । त्यसमा अझ महिलाहरुको अबस्था दयनीय रहेको छ । जनमजदुरी गरी जीविकोपार्जन गर्ने गरेका मुसहरहरु गास , बास र कपासको आधारभूत समस्याबाट समेत प्रभावित छन् । शिक्षा , स्वास्थ्यमा खासै पहुँच नभएका मुसहर समुदायका महिलाहरुले वर्षेनि बच्चा पाउनुपर्ने , बाल विवाह , घरायसी हिंसाजस्ता समस्याले पीडित छन् । विविध प्रकारको हिंसाबाट पीडित ती महिलाहरुलाई हिंसा सहन नहुने विषयमा सचेतना दिइएको प्रशिक्षक लामिछानेले बताइन् ।

कार्यक्रममा वडाध्यक्षहरु सिटौला र कन्दङ्वाले विगत हेरी मुसहर बस्तीमा केही परिवर्तन आएपनि अझै पूर्वाधार र मानवीय विकास जरुरी भएको बताएका थिए । लैङ्गिक हिंसाका बारेमा आफूहरुले कहिल्यै नसुनेको सहभागी महिलाहरुले बताएका छन् । आफूहरुमा चेतना जगाउन त्यस किसिमको कार्यक्रम जरुरी भएको सहभागी अन्जु चौधरी ऋषिदेबले बताइन् । कार्यक्रममा बिर्तामोड ३ र १० का २५ जना मुसहर समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।