बिर्तामोड, पुष १२ । नेपाली कांग्रेस झापाको नवनिर्वाचित समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेपश्चात् सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।

नवनिर्वाचित सभापति देउमान थेवेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं कांग्रेस नेता पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले सपथ गराएका थिए । त्यसपछि थेवेले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराएका थिए । नेपाली कांग्रेस झापाका निवर्तमान सभापति उद्धव थापाले पार्टीको झण्डा एवं बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गराएका थिए ।
सो क्रममा प्रमुख अतिथि सिटौलाले महाधिवेशनमा देखिएको गुटउपगुट अन्त्य गरेर नेता–कार्यकर्ताको मन जोड्न नयाँ जिल्ला समितिलाई सुझाव दिए ।
नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई शुभकामना दिदै नेता सिटौलाले भने–‘नेता–नेताबीच कुम जोडेर मात्रै हुँदैन, मन जोड्नुस्, अनि मात्रै कांग्रेस बलियो र अपराजित शक्ति बन्छ ।’
१४ औं महाधिवेशनबाट पार्टीमा युवाहरुको सशक्त उपस्थिति सकारात्मक रहेको उल्लेख गर्दै नेता सिटौलाले विचार दिएर संगठन अघि बढाउन नसके चुनौती थपिने धारणा राखे ।

नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्धव थापाले नेपाली कांग्रेसको इतिहास, प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका प्रजातान्त्रिक योद्धाहरुको इतिहासको संरक्षण, आफ्नो कार्यकालमा पार्टीले लिएको पाँच ‘ब’ को नीतिको कार्यान्वयन एवं गुटरहित पार्टी बनाउने जिम्मेवारी पूरा गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे ।
थापाको कार्यकालमा विचार, ब्यवहार, ब्यवसाय, विकास र विपदमा कांग्रेस भन्ने पाँच ‘ब’ को नीति अघि सार्दै झापा कांग्रेस एवं भातृ संगठनहरुलाई सशक्त बनाइएको थियो ।
कांग्रेसको संगठन कमजोर भएर विगतको निर्वाचनमा कांग्रेसका उम्मेद्वार पराजित नभएको दावी गर्दै सभापति थापाले प्रदेश १ कै संगठनलाई गुटरहित बनाउने र कार्यक्षमता एवं क्रियाशिलताका आधारमा कार्यकर्तालाई अवसर दिने उद्घोष गरे ।
नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने बताए । कसैलाई भेदभाव नगर्ने र सबैले शिर ठाडो बनाएर हिँड्ने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद महेन्द्राकुमारी लिम्बू, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कांग्रेस झापा सभापतिका उम्मेदवार राम कट्टेललगायतले बोलेका थिए ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन समितिका सदस्य यज्ञप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाई, निवर्तमान सचिव प्रेम सम्बाहाम्फे र निर्वाचन समिति सदस्य एवं प्रेस युनियन अध्यक्ष इन्दु पूर्वेलीले संयुक्त रुपमा गरेको सचिव नवीन विमलीले जानकारी दिए ।

यसैबीच नेपाली कांग्रेस झापाको सोमबार सम्पन्न पहिलो बैठकले यही पुष १६ गते पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।
यसैगरी प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं वी.पी. कोइरालाका सहयोद्धा आदिवासी नेता तुर्सा हेमरमको स्मृति दिवस पुष २० गते मनाउने, पुष २५ गते केन्द्रीय महामन्त्रीमा निर्वाचित झापाका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाई, महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल, प्रदेश सभापतिमा निर्वाचित उद्धव थापा एवं प्रदेश सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

देउमान थेवेको सभापतित्वमा सम्पन्न पहिलो बैठकले नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा उपविजयी बन्नुभएका सभापतिका उम्मेद्वार राम कट्टेललाई कांग्रेसको विधान बमोजिम जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव कृष्ण हुमागाईले जानकारी दिए ।
१४ औं जिल्ला अधिवेशन सम्पन्न गर्न वडादेखि जिल्ला तहसम्म खटिने निर्वाचन अधिकृत, सहायक अधिकृत, सहयोगी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज एवं सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव विमलीले जानकारी दिए ।
यसैगरी बैठकले क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ÷नगर कार्यसमितिका बैठक यथाशिघ्र सम्पन्न गरी पार्टी संगठनलाई सशक्त बनाउने, टोल समिति गठन, बुथ समिति गठनलाई तिब्रता दिने र उमेर पुगेका मतदाताहरुको नामावली अद्यावधि गर्ने कार्य अघि बढाउने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्