बिर्तामोड , पुष १३ । बिर्तामोड नगरपालिका र सहारा नेपालबीच कृषि र शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि संझौता भएको छ ।

मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, शिक्षा अधिकृत दिनेशप्रसाद आचार्य,कृषि शाखा प्रमुख राजेन्द्र कडरीया,पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल,जनप्रतिनिधि सुरेन राजवंशी, सहारा नेपालका सहसचिव ज्ञानुनाथ मैनाली र सञ्चालक समिति सदस्य शंकर रिजालको उपस्थितिमा संझौतामा हस्ताक्षर भएको हो ।संझौतामा नगरप्रमुख शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत दाहाल,सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी र सहसचिव ज्ञानुनाथ मैनालीको हस्ताक्षर रहेको छ ।

शिक्षातर्फ बालमैत्री,पूर्ण सरसफाई एवं प्रविधिमैत्री सिकाईको सिर्जना आचरणयुक्त तथा जीवनोपयोगी शिक्षाको परिकल्पना शिर्षकको संझौतामा बिर्तामोड नगरपालिकाको २८लाख ४० हजार र सहारा नेपालको १०लाख गरी ३८ लाख ४० हजार रुपैयाँको लागत साझेदारीमा शैक्षिक विकासका कार्यक्रमहरु हुने उल्लेख छ ।कार्यक्रमहरुमा आधारभूत तह कक्षा १ देखि ५ सम्म प्रविधिमैत्री कक्षा व्यवस्थापन,प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रमलगायत छन् ।

यस्तै कृषितर्फ पूर्वाधारयुक्त नगर,विषादीरहित कृषि र व्यवसायको अभिबृद्धि,सभ्य र स्वस्थ नागरिक,बिर्तामोड नरपालिकाको समृद्धि शिर्षकको संझौतामा साझेदारीमा बिर्तामोड नगर क्षेत्रभित्र कृषि र पशु उत्पादनका क्षेत्रमा काम गर्ने उल्लेख छ । यस कार्यक्रमका लागि बिर्तामोड नगरपालिकाको २० लाख र सहारा नेपालको २० लाख गरी जम्मा ४० लाख रुपैयाँको लागतमा साना सिचाई कार्यक्रमअन्तर्गत मोटर बोरिङ्ग वितरण गरिने छ ।यस्तै बिर्तामोड नगरपालिकाको २५ लाख र सहारा नेपालको २५ लाख गरी ५० लाख रुपैयाँमा पशु विकाससम्बन्धी मासु पसल सुधार,गाईको भकारो तथा गोठ सुधार, बाख्राको भकारो तथा गोठ सुधार,बंगुरको भकारो तथा गोठ सुधार र कुटी काट्ने मेशिन च्याप कटर वितरण गर्ने कार्यक्रम छ । यस संझौताको अवधि २०७९ साल असार मसान्तसम्म रहेको जनाईएको छ ।

बिर्तामोड नगरपालिका र सहारा नेपालबीच विगत ३ वर्षदेखि विपन्न आवास,शिक्षा र कृषिको क्षेत्रमा साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।सहारा नेपालको केन्द्रीय कार्यालय बिर्तामोडमा नै रहेको हुनाले अन्य पालिकाहरुमा भन्दा बिर्तामोड नगरपालिकालाई नै बढी कार्यक्रममा फोकस गर्दै आएको सहारा नेपालका सहसचिव ज्ञानुनाथ मैनालीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्