बिर्तामोड , पुष १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो । मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न अनुरोध गरेको छ ।
यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्यरूपमा हिटर निभाउन अनुरोध गरेको छ । मन्त्रालयले गिजरको मुख्य मेसिनलाई स्नानगृह बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म स्नानगृहमा नबस्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्