बिर्तामोड ,पुष १६ । ४६ औं राष्ट्रिय मेलमिलाप दिवस शुक्रबार विविध कार्यक्रमका साथ देशभर मनाइएको छ ।

नेपाली कांग्रेसले थालेको प्रजातान्त्रिक आन्दोलनका क्रममा २००७ सालमा राणा शासनको अन्त्यसँगै देशमा प्रजातान्त्रिक शासन ब्यवस्था कायम भएको थियो । २०१५ सालमा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसको पक्षमा दुईतिहाई बहुमत आएर गठन भएको सरकारलाई २०१७ सालमा तत्कालीन राजा महेन्द्रले अपदस्त गरी निर्दलीय शासन ब्यवस्था लागु गरेका थिए । त्यसबेला तत्कालीन प्रधानमन्त्री महामानव वी.पी. कोइरालासहित नेपाली कांग्रेसमा आबद्ध एवं प्रजातान्त्रिक आन्दोलनमा सक्रिय शीर्ष नेताहरुलाई अपदस्त गरी जेल चलान गरिएको थियो ।
लगभग ८ बर्षसम्मको कठोर जेल जीवनपछि निर्वासनको सजाय भोगिरहेका वी.पी. कोइराला, गणेशमान सिंहसहितका शीर्ष नेताहरु आफूहरुमाथि फाँसीको सजायसमेत हुनसक्ने जोखिमपूर्ण अवस्थामा २०३३ साल पुष १६ गते मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । नेपाली कांग्रेसले सोही सम्झनामा प्रत्येक बर्ष पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।
यही सन्दर्भ पारेर नेपाली कांग्रेस झापाअन्तरगत सबै क्षेत्रमा मेलमिलाप दिवस सम्पन्न भएको छ । झापा क्षेत्र नं–२, ४ र ५ ले क्षेत्रीयस्तरमा कार्यक्रम सम्पन्न गरेका छन् भने क्षेत्र नं–१ र ३ ले वडास्तरमा कार्यक्रम सम्पन्न गरेका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस एवं प्रमाणपत्र वितरण कार्यक्रममा क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारी÷सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले प्रमुख अतिथिको रुपमा बोल्दै वी.पी.ले समाजवादको नीतिअन्तरगत निमुखालाई न्याय र विपन्नलाई आयको नीति लिएको उल्लेख गर्दै निम्न र मध्यम वर्गलाई प्राथमिकतामा राखेर पार्टीको नीति बनाएको बताए।
सिक्किम भारतमा विलय भएको र अन्तर्राष्ट्रिय राजनीतिक अवस्था समेत गम्भीर भएका बेला आफ्नो ज्यान जोखिममा राखेर वी.पी., गणेशमानलगायतका नेताहरु मेलमिलापको नीति लिएर स्वदेश फर्किएको उल्लेख गर्दै नेता सिटौलाले अन्तर्राष्ट्रिय सम्बन्ध एवं समाजवादी दर्शनकै कारण तत्कालीन राजाले कांग्रेस नेताहरुलाई कारबाही गर्न नसकेको घटना सुनाए ।
कार्यक्रमका विशेष अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा निम्न मध्यमवर्गीय वर्गको बलियो उपस्थिति आजको आवश्यकता भएको बताउँदै समाजवादको नीतिलाई कांग्रेसले पूर्णतया पालना र कार्यान्वयन गर्न नसकेको धारणा राखे ।

क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोहन सुब्बा, गोपीचन्द्र गौतमले मन्तब्य राखेका थिए । कांग्रेस झापा सचिव कृष्ण हुमागाई, प्रदेश सदस्य मिरा खड्का, राजकुमार बराइली, जिल्ला सदस्यहरु एल.वी. गिरी, झुमा आचार्य बेडारी, सरस्वती सिटौला, लिला ढकाल, पार्वता गिरी, नेपाल दलित संघ केन्द्रीय सदस्य हस्तबहादुर परियार, नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, महाधिवेशन प्रतिनिधिहरु भुमा घिमिरे, दिपेन्द्र ढकाल, लीलादेवी कटुवाललगायतको उपस्थिति रहेको थियो । लक्ष्मी आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन चन्द्रप्रसाद चुडालले गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस झापा क्षेत्र नं–५ ले दमकमा मेलमिलाप दिवस सम्पन्न गरेको छ । कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेता पूर्णानन्द शर्मा, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, हुकुमसिंह राई, सुरेश सुब्बा, चन्द्रा खड्का, खगेन्द्र अधिकारी, बिरबहादुर प्रसाई, मेदनी सिटौला, राजन ढुङ्गाना, कमल गाउँपालिका सभापति बुद्धिप्रसाद न्यौपाने, गौरीगञ्ज सभापति अघ्नुप्रसाद राजवंशी, गौरादह नगरपालिकाका सभापति यादवराज सेडाई, दमक नगर सभापति प्रकाश प्रसाईलगायतले मन्तब्य राखेका थिए ।
झापा क्षेत्र नं–५ का सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जीवन राईले गरेका थिए ।

यसैबीच झापा ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा झापाको सुरुङ्गामा ४६ औं मेलमिलाप दिवस सम्पन्न भएको छ ।
१ नं प्रदेश समितिका सदस्य किरण भट्टराईको प्रमुख आतिथ्य र ४ नं क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सहसचिव कमल भण्डारी, जिल्ला सदस्य लीला चिमरिया, महाधिवेशन प्रतिनिधि कविता बस्नेत, पर्शुराम ढुङ्गाना, सखिचन्द्र ठाकुर, मनोज पोखरेललगायतले शुभकामना मन्तब्य राखेका थिए । ख्यामराज सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन रमेश खतिवडाले गरेका थिए ।
यसैबीच झापा क्षेत्र नं–३ अन्तरगत कचनकवलका सातवटै वडामा मेलमिलाप दिवस सम्पन्न भएको छ । कचनकबल–१ मा आयोजित कार्यक्रम जिल्ला सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्य र वडा सभापति छविलाल अधिकारीको सभापतित्वमा भएको थियो । यसैगरी कचनकवल–२ मा क्षेत्रीय सचिव गीताप्रसाद भट्टराईको प्रमुख आतिथ्य र गंगाप्रसाद खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ भने वडा नं–३ मा भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्य र तारानिधि प्याकुरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका बीच मेलमिलाप दिवस सम्पन्न भएको छ ।

यसैगरी कचनकवल–४ मा हारुल रसिद मियाको सभापतित्व र सिताराम खड्काको प्रमुख आतिथ्यमा मेलमिलाप दिवस सम्पन्न भएको छ भने ५ मा कृष्णप्रसाद गणेशको सभापतित्व र चिन्तामणि खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कचनकवल–६ मा केशव लामिछानेको सभापतित्व र तुलाराम अधिकारीको प्रमुख आतिथ्य एवं वडा नं–७ मा मधुसुदन पौडेलको सभापतित्व र पूर्णविक्रम भट्टराईको प्रमुख आतिथ्यमा मेलमिलाप दिवस सम्पन्न भएको जनाइएको छ ।
यसैगरी झापा क्षेत्र नं–१ का २१ वटै वडामा वडास्तरीय कार्यक्रम सम्पन्न भएको १ नं क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।

त्यस्तै मेलमिलाप दिवसको अवसर पारेर भद्रपुर १० चन्द्रगढीस्थित वीपी चौकमा दीप प्रज्वलन गरिएको छ ।
वीपीको मेलमिलाप नीति अनुशरण गरी नेपालको राष्ट्रिय एकतालाई अझै बलियो बनाउनुपर्ने आवश्यकता ठान्दै नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि गोमाकुमारी भट्टराईको नेतृत्वमा काँग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरूले दीप प्रज्वलन गरेका हुन् ।
दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस भद्रपुर ९ का वडा सभापति चेतनाथ भट्टराई, भद्रपुर १० का पूर्व वडा सभापति शालिग्राम नेपाल, अग्रज कांग्रेस कार्यकर्ता इन्द्रबहादुर कार्की, लावण्य पोखरेललगायत वीपीको विचारसित सम्बद्ध नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्