बिर्तामोड , पुष १९ । कामका आधारमा गरिने जातीय विभेदको अन्त्य गर्दै आफ्नो कला, संस्कार र संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले क्षितिज नाट्य प्रतिष्ठानले उपसमितिको रुपमा क्षितिज नौमती बाजा ब्यबस्थापन समिति गठन गरेको छ ।

क्षितिज नाट्य समूहकी ज्येष्ठ कलाकार तथा केन्द्रीय संरक्षक मायादेवी सिटौलाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियन्ता झापाली युवा रंगकर्मी माधब कल्पितले जानकारी दिएका छन् ।
कल्पितको अध्यक्षतामा आयोजित आमभेलाले बिशेषतः महिला समुदायलाई हौसला ,अवसरका साथै स्वरोजगार प्रदान गर्ने उद्देश्यका साथ क्षितिज नौमती बाजा ब्यबस्थापन समिति गठन गरेको जनाइएको छ ।
समितिमा देवीमाया प्रसाई उपाध्यक्ष ,समीक्षा खतिवडा सचिव, संगीता रिजाल कोषाध्यक्ष रहेका छन् । यसैगरी सदस्यहरुमा गजेन्द्र पृथक,गंगा प्रसाई,सुजाता दाहाल राजकुमार भट्टराई र भिमा खतिवडा रहेको नाट्य प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले जानकारी दिए । नवगठित समितिलाई वडा कार्यालय र नगरपालिकाको सहयोगमा बाजा र उचित तालिम प्रदान गरी स्वरोजगारको अवसर प्रदान गर्ने र अन्य इच्छुक महानुभावहरुलाई समेत सामेल गरी तालिम र अवसर प्रदान गर्ने लक्ष्य लिएको समूहकी अध्यक्ष मायादेवी सिटौलाले बताइन् ।