झापा , पुष १९ । राष्ट्रिय सभा निर्वाचनका लागि झापाका तीनजा उम्मेद्वार बन्ने भएका छन् ।
नेकपा एमालेको तर्फबाट दुईजना र नेपाली कांग्रेसको तर्फबाट एकजना उम्मेद्वार बन्ने भएका हुन् । राष्ट्रियसभा सदस्यका लागि झापाबाट एमालेका तर्फबाट देवराज घिमिरे र सुमित्रा भण्डारीले उम्मेद्वारी दिने भएका हुन् भने नेपाली कांग्रेसका तर्फबाट गोपालकुमार बस्नेत उम्मेद्वार बन्ने भएका छन् । राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले उम्मेदवारहरू टुंगो लगाएको हो । आइतबार साँझ बसेको सचिवालयको बैठकले माघ १२ गते हुने राष्ट्रियसभा सदस्यका लागि हुने चुनावका लागि १९ सिटका उम्मेदवारको टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) छन्। प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) छन्। त्यस्तै, बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु दर्लामी) (सिन्धुली) छन्।
त्यस्तै, गण्डकीमा खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) छन्।
लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) छन्। सूदूरपश्चिममा खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) छन्।
त्यस्तै नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो। केन्द्रीय कार्यसमिति बैठक अघि पार्टी कार्यालयमा पदाधिकारीको बैठक बसेको थियो। जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बन्ने छन्। उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएकी थिइन्। यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रिय सभा सदस्य बन्न पाएका थिएनन्। महाधिवेशन प्रतिनिधिमा पराजित पौडेल पार्टी कार्यालयका मुख्य सचिव हुन्।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दलहरूले पनि सिट बाँडफाँड गरिसकेका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले कांग्रेसलाई ६ सिट, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई ५–५ सिट, जनता समाजवादी पार्टी नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने निर्णय गरेको छ । गठबन्धनसामु एमालेलाई आफ्ना ८ सिट जोगाउनुपर्ने चुनौती छ ।