बिर्तामोड , पुष २० । जाडोको समस्यामा रहेका बिर्तामोड १० स्थित विराट आधारभूत विद्यालयका विधार्थीहरुलाई समाजसेवी सन्तोष राजवंशी(राजु)ले स्वीटर वितरण गरेका छन् ।

जुनियर रेडक्रस सर्कल, बाल क्लब तथा शिक्षकहरूको अनुरोधमा सुष्मा निर्माण सेवाका प्रोप्राइटर राजवंशीले विद्यालयका ७० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका हुन् । त्यसको लागि २५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । विपन्न आर्थिक अबस्था भएका सन्थाल , राजवंशी , मुसहरलगायतका जातिका विद्यार्थीहरु त्यस विद्यालयमा अध्ययन गर्ने गरेका छन् ।

यो कठ्यांग्रिने जाडोमा विद्यार्थीहरुले लगाउने न्यानो लुगा नभएको थाहा पाएपछि आफूले सो सहयोग गरेको सहयोगी राजवंशीले बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विधार्थीहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको धारणा राखे । विधार्थीलाई स्वीटर वितरण गरी पुण्य कार्य गरेकोमा बाल क्लब तथा शिक्षक परिवारले सहयोगी राजवंशीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद विमलीको अध्यक्षतामा भएको स्वीटर वितरण कार्यक्रममा बाल क्लबका अध्यक्ष बाबुलाल हस्दा , युवा सामाजिक व्यक्तित्व समील राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक रंगलाल न्यौपानेले गरेका थिए ।

यसअघि बिर्ताबजार सामाजिक युवा क्लबको सहयोगमा सो विद्यालयलाई ५ वटा डस्टबिन प्रदान गरिएको थियो । क्लबका मनोज बुढाथोकी , लक्ष्मी ढकाललगायतको पहलमा डस्टबिन प्राप्त भएको शिक्षक न्यौपानेले जानकारी दिए ।