बिर्तामोड , पुष २० । बिर्तामोडको बालकल्याण आवासीय माध्यमिक विद्यालयमा अध्ययन गरी २०७० सालमा एसएलसी उत्तीर्ण गरेका विधार्थीहरुले आफूले पढेको विद्यालय र आफूलाई शिक्षा दिने गुरुहरुको सम्मानमा सामूहिक अभिनन्दन कार्यक्रम गर्ने भएका छन् ।


माध्यमिक तहसम्मको अध्ययन पुरा गरी उच्च शिक्षा हासिलको क्रममा हाल नेपालका विभिन्न स्थान र अमेरिका,अष्ट्रेलिया ,पोल्याण्ड ,दुवई, जापान,क्यानडा ,भारतलगायत एक दर्जनबढी मुलुकमा छरिएर रहेका ४० बढी विद्यार्थीहरु पुनः एक भएर आफूले माध्यमिक तहसम्म पढेको विद्यालय र आफूलाई यो अबस्थासम्म पुग्न शिक्षाको पहिलो ज्योती प्रदान गर्ने तत्कालीन गुरुहरुको सम्मान तथा बालकल्याण आवासीय माध्यमिक विद्यालयका संस्थापक शिक्षक रामप्रसाद सिटौलाको भब्य अभिनन्दन गर्ने भएका हुन् । सो कार्यक्रम पुष २४ गते शनिबार गर्न लागिएको कार्यक्रम संयोजक इञ्जिनियर समिन खतिवडाले जानकारी दिएका छन् ।

बालकल्याण माध्यमिक विद्यालयका शिक्षकहरुले दिएको ज्ञान र देखाएको बाटोमा पथ प्रदर्शक भएर अघि बढेकै कारण आज डाक्टर , नर्स इञ्जिनियर, कानून व्यवसायी, शिक्षक, उद्योगी, ब्यापारी ब्यवसायी ,समाजसेवीलगायतका सबै क्षेत्रमा आफूलाई पुर्याउन सफल भएको उनले बताए । ‘आज हामी जहाँ छौ जे छौ, त्यो हाम्रा पुजनीय मातापिता र गुरुहरुको देन हो । त्यसलाई हामीले मनन गरेर जन्म दिने मातापिता र शिक्षाको पहिलो दिब्य ज्ञान दिने पुजनीय गुरुहरुलाई सम्मान गर्नु उहाँहरुबाट थप प्रेरणा र आशिर्बाद लिन सक्नु हाम्रो पहिलो दायित्व हो’ उनले भने ,‘त्यही ठानेर नै हामीले यो कार्यक्रम आयोजना गर्न लागेका हौं । ’

बालकल्याण आवासीय माध्यमिक विद्यालयले स्थापनाकालदेखि हालसम्म ३३ औ ब्याच विद्यार्थी उत्पादन गरिसकेको छ । तर आफूहरुले बुझेसम्म कुनै पनि ब्याचले पुनः विद्यालयमा फर्किएर यस प्रकारको कार्यक्रम नगरेको कार्यक्रम संयोजक खतिवडाले बताए । यसलाई आफ्नो कर्तब्य सम्झेर आउँदो पुस्तालाई समेत प्रेरणा मिलोस् भन्ने उद्देश्य राखेर यो कार्यक्रम आयोजना गरिएको आयोजक समूहकी सदस्य रोश्ना अधिकारीले बताईन् । २५औ ब्याचमा भएका करिव ४०जना छात्रछात्राले भर्चुअल मिटिङ्ग गरी सबैबाट रकम संकलन गरेर कार्यक्रम गर्न लागिएको डाक्टर बिधामा अध्ययन गरिरहेका उदय राजवंशी बताउँछन् । स्वदेशका विभिन्न स्थानमा रहेका १ दर्जनबढी विधार्थीहरु शुक्रबारसम्ममा झापा आइपुग्ने तथा बिदेशमा रहेका साथीहरुका अभिभावकहरु प्रत्यक्ष कार्यक्रममा सामेल भई सम्पन्न गर्न लागिएको आयोजक समूहकी मन्दिरा रिजालले जानकारी दिईन् ।


कार्यक्रममा शिक्षकहरुको सम्मान गरिनुका साथै क्षितिज नाट्य प्रतिष्ठानद्वारा निर्माण भइरहेको प्रदेश न. १ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरलाई सहयोग तथा सम्मान गरिने छ । यसैगरी सारेगमप लिटल च्याम्सको आठौं स्थानमा पुग्न सफल बिर्तामोड –२ की कृपा पौड्याललाई सम्मान तथा भोटिङ्ग सहयोग रकम हस्तान्तरणलगायतका कार्यक्रम पनि राखिएको आयोजक समूहका सदस्य योगेश खरेलले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्