अर्जुनधारा, पुष २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२ प्रदेशसभा ‘ख’ द्वारा आयोजित सपथ ग्रहण एवं सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बुढाथोकीले कांग्रेसका कार्यकर्ताले देश, जनता र पार्टी हितलाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । गोपनियता, जिम्मेवारी र पारदर्शितालाई सन्तुलित ढंगले अघि बढाउन आग्रह गर्दै उनले सबैलाई एकताबद्ध रुपमा संगठित गर्न सके कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले पार्टीको आन्तरिक छनौट प्रक्रियालाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै वास्तविक प्रतिष्पर्धा त संसदीय निर्वाचनमा अन्य दलसँग हुने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टीको आन्तरिक छनौट प्रक्रियाको विषयलाई लिएर एकअर्का बीचमा मनोमालिन्य र कुप्रचार नगर्न आग्रह गर्दै आज गलत भनेको साथीलाई भोलि निर्वाचनमा असल उम्मेद्वार भन्नुपर्दा आइपर्ने समस्यालाई बेलैमा ध्यान दिन सुझाव दिए ।
सोही कार्यक्रमका बीच नेपाली कांग्रेस क्षेत्र नं–२ प्रदेश ‘ख’ ले आफ्नो प्रदेश क्षेत्रबाट केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिमा निर्वाचितहरुलाई स्वागत सम्मान गरेको थियो ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित केशवकुमार बुढाथोकी र सरिता प्रसाई, प्रदेश नं–१ का सभापति उद्धव थापा, प्रदेश समिति सदस्य राजकुमार बराइली र रञ्जिता कार्की, जिल्ला सचिव कृष्ण हुमागाई र २ क्षेत्रीय सभापति खगेन्द्र मैनालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रदेशसभा २ ‘ख’ का सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगर सभापति हेमप्रसाद खरेल, अर्जुनधारा ६ नं वडा सभापति नेत्र विमलीलगायतले मन्तब्य राखेका थिए ।उपसभापति पहलमान बरालले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्