बिर्तामोड , पुष २३ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्व तयारीसहित छ ।

विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत र पूर्व तयारीसहित देखिन्छ । विगतमा नाकाको हेल्थ डेस्कमा बस्ने ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिन्थ्यो । तर, अहिले भने कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्रीसहित छन् । तर, विगतमा नेपाल÷भारतमै लकडाउन हुँदा नाका केही व्यवस्थित थियो । अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । जसका कारण नजिकका भारतीय बजार पानीट्यांकी लगायत क्षेत्र पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड हुन्छ । उनीहरुकै कारण नाकामा जोखिम पनि बढेको छ । दैनिक नाकामा एक हजार बढी नेपाल प्रवेश गर्छन् । तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने हुने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालले जानकारी दिए । ‘पारी गएर दैनिक आवश्यक सामग्री खरिद गर्नेको भिड हुन्छ । यो त नेपालमै पाउन्छ । पहिलो महत्वको हैन । अस्पताल, विद्यार्थीको परीक्षा पहिलो प्राथमिकता हुन् । उनीहरू कमै आउँछन् । आएका पनि स्वास्थ्य मापदण्डसहित हुन्छन् । दैनिक उपभोग्य सामग्री ल्याउनेबाट खतरा छ ।’

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन माथिल्लो निकायबाट मौखिक निर्देशन आएको बताए । नाकामा दैनिक उपभोग्य सामग्री खरिद गर्नेलाई पनि कडाइ गर्ने निर्देशन आए त्यहीअनुसार अघि बढ्ने डिएसपी दाहालको भनाइ छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नाकामा कडाइ गरिएको बताए । उनले खोप नलगाई नेपाल प्रवेश गरेका नेपाली नागरिकलाई नाकमै खोप लगाइने व्यवस्था गरिएको छ । यस्तै, शंकास्पदलाई नाकामै एन्टिजेन्ट परीक्षणको पनि व्यवस्था गरिएको उनले बताए । ९ पुसबाट नाकामा खोपको कार्यक्रम सुरु गरिएको छ । विदेशी नागरिकको हकमा ७२ घण्टाको पिसिआर रिर्पाेट वा डोज पूरा गरेको खोप कार्ड वा एन्टिजेन्ट रिर्पाेट अनिवार्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली नागरिकको हकमा कुनै कागजात नभए पनि नेपालमै खोप लगाएर एन्टिजेन्ट परीक्षण गरेर पठाइन्छ । एन्टिजेन्ट रिर्पाेट पोजेटिभ आए ती व्यक्ति बस्ने सम्बन्धित पालिकासँग समन्वय छुट्टै गाडीमा पठाइने गरेको प्रजिअ तिमिल्सिनाले बताए । त्यसरी जान नसके मेची अस्पताल भद्रपुर लगिने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्