बिर्तामोड , पुष २४ । बालकल्याण आवासीय माध्यमिक विद्यालयमा अध्ययन गरी २०७० सालमा एसएलसी परीक्षा उत्तीर्ण भएका बिद्यार्थीहरुले आफूले पढेको विद्यालय र आफूलाई शिक्षा दिने दुई दर्जन गुरुहरुलाई सामूहिक सम्मान गरेका छन् ।

साथै संस्थापक प्रिन्सिपल रामप्रसाद सिटौला र उनकी जीवन संगिनी देवी सिटौलालाई अभिनन्दन गरेका छन् । २०७० सालमा एसएलसी उत्तीर्ण गरी पोखरा युनिभर्सिटीबाट सिभिल इन्जिनियर बिदामा नेपाल टप गर्न सफल क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेका इन्जिनियर समिन खतिवडाको अध्यक्षता र बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम विद्यालयकै पहिलो र उदाहरणीय भएको सहभागी बक्ता विद्यालय ब्यबस्थापन समितिका संयोजक उपेन्द्र पराजुलीले बताए ।
माध्यमिक तहसम्मको शिक्षा पुरा गरी उच्च शिक्षा हासिलको क्रममा हाल नेपालका विभिन्न स्थान हँुदै अमेरिका,अष्ट्रेलिया ,पोल्याण्ड ,दुवई ,जापान,क्यानडा ,भारतलगायत एक दर्जनभन्दा बढी मुलुकमा छरिएर रहेका ४० बढी बिद्यार्थीहरु पुनः एक भएर आफूले माध्यमिक तहसम्म पढेको विद्यालय र आफूलाई यो अबस्थासम्म पुग्न पहिलो शिक्षाको ज्योती प्रदान गर्ने तत्कालीन गुरुहरुको सम्मान तथा बालकल्याण आवासीय माध्यमिक विद्यालयका संस्थापक सिटौलाको भब्य अभिनन्दन गरेको कार्यक्रम संयोजक इन्जिनियर समिन खतिवडाले जानकारी दिए ।

बालकल्याण आवासीय माध्यमिक विद्यालयले स्थापनाकालदेखि हालसम्म ३३ औ ब्याच उत्पादन गरिसक्यो तर, आफूले बुझेसम्म कुनै पनि ब्याचले पुनः बिद्यालयमा नै फर्किएर यस प्रकारको कार्यक्रम नगरेको आयोजक समूहकी सदस्य मन्दिरा रिजालले स्वागत मन्तब्यका क्रममा बताइन् । २०औ ब्याचमा भएका करिव ४०जना छात्रछात्राले भर्चुअल मिटिङ्ग गरि सबैबाट रकम संकलन गरेर कार्यक्रम गरिएको डाक्टर बिधामा अध्ययन गरिरहेका उदय राजबंशीले बताए । कार्यक्रममा गुरुहरुको सम्मानका साथै क्षितिज नाट्य प्रतिष्ठानद्वारा निर्माण भइरहेको प्रदेश न. १ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरलाई निर्माण सहयोग नगद रु एघार हजार एक सय एघार तथा सम्मानपत्र मार्फत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधब कल्पितलगायतलाई सामूहिक सम्मान गरिएको थियो ।

यसैगरी सारेगमप लिटल च्याम्स नेपालीको प्रतियोगी बिर्तामोड –२ की कृपा पौड्याललाई सम्मान तथा भोटिङ्ग सहयोगका लागि उनका पिता कुमार पौड्यालमार्फत नगद रु पाँचहजार एक सय हस्तान्तरण गरिएको छ । कार्यक्रममा इन्जिनियर समिन खतिवडाको अध्यक्षतामा २१ सदस्यीय बालकल्याण पूर्व विद्यार्थी तदर्थ समिति समेत गठन गरिएको छ ।नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशब भट्टराईले संञ्चालन गरेको कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानका कलाकार माधब सिटौला ,भिमा खतिवडालगायतको साँगीतिक आयोजना गरिएको आयोजक समूहका सदस्य योगेश खरेलले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्