बिर्तामोड, पुष २५ । भूमिहीन र सुकुम्बासीहरुको समस्या समाधानमा शिवसतासीका नगरप्रमुख चन्द्रकुमार शेर्माले देखाएको बेवास्ताप्रति शिवसताक्षीका क्रियाशील ६ वटा राजनीतिक दलले आपत्ति जनाएका छन् ।

भूमिहीन एवं सुकुम्बासीको समस्या समाधानका लागि शिवसताक्षी नगरपालिकालाई नमूना पालिकाको रुपमा चयन गर्दै नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले सम्झौताका लागि बोलाउँदा शिवसतासी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शेर्मा नगएर समस्या समाधानमा बेवास्ता गरेको भन्दै ती दलहरुले आपत्ति प्रकट गरेका हुन् ।

नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष महेन्द्र भट्टराई, नेकपा (एकीकृत समाजवादी) का नगर उपाध्यक्ष खड्गध्वज खापुङ, संघीय लिम्बूवान मञ्च नेपालका नगर अध्यक्ष प्रकाश लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष मणिप्रसाद खड्का, जनता समाजवादी पार्टीका नगर अध्यक्ष पल्टन ताजपुरियाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुखको बेवास्ताप्रति आपत्ति जनाएका हुन् । एमालेबाहेक नगरमा क्रियाशील राजनीतिक दलले उक्त मागप्रति नगरप्रमुखको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको नेपाली कांग्रेसका नगर सभापति बस्नेतले जानकारी दिए ।

नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले चलानी नं–१९१, मिति २०७८÷९÷२० को परिपत्र अनुसार २०७८÷९÷२४ गते शिवसताक्षी नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई दरबार ब्याङकेट सोल्टीमोड, काठमाडौंमा आमन्त्रण गरेको थियो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ को दफा ३ मापदण्ड बमोजिम सम्झौता गर्न उक्त आयोगले सूचित गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सूचनालाई बेवास्ता गर्दै नगरप्रमुख चन्द्रकुमार शेर्मा र प्रमुख प्रशासकीय अधिकृत सम्झौता गर्न नगएको बुझिएको जनाउँदै विज्ञप्तिमा यसबाट हुने दूरगामी क्षतिप्रति सचेत गराइएको छ । सम्बन्धित निकायमा यथाशीघ्र सम्पर्क गरी सम्झौता गर्न र सोको आधिकारिक जानकारी स्थानीय राजनीतिक दललाई गराउन आग्रह गर्दै विज्ञप्तिमा नेपाल सरकारको नीति, नियम र कार्यक्रमको पालना नगर्दा भूमिहीन सुकुम्बासीको संवेदनशिलता र भविष्यमाथि खेलवाड भए त्यसबाट उत्पन्न हुने परिणामप्रति जवाफदेही हुन नगरप्रमुखलाई सचेत गराइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्