झापा , पुष २९ । कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढेपछि सरकारले कोरोना विरुद्धको खोपलाई स्वास्थ्य सुरक्षाको विकल्पका रूपमा अघि सारेको छ ।
खोप अभियानलाई सशक्त बनाउन सार्वजनिक स्थलमा खोप कार्डलाई अनिवार्य पनि गरिएको छ । प्रदेश १ का सघन बस्ती भएका झापा, मोरङ, सुनसरी जिल्लामै कोभिड–१९ विरुद्धको खोप लगाउने दर न्यून देखिएको छ । यतिसम्म कि हिमाली र पहाडी जिल्लाको तुलनामा सघन सहरी क्षेत्रका यी तीन जिल्लामा सचेत नागरिक नै खोप अभियानमा सरिक नभएको सरकारी तथ्याङ्क छ । सरकारले लक्षित वर्ग छुट्याई चरण–चरणमा कोरोनाविरुद्धको खोप अभियान चलाइरहेको छ । तर पनि खोप अभियानमा जनसहभागिता कम छ । विराटनगर–४ का राजेश राजवंशीले आफ्नै घर नजिकै रहेको वडाको खोप केन्द्रमा बुधबार आफ्नी श्रीमती रमितालाई खोप लगाउन लिएर गए । तर उनी आफैले अहिलेसम्म खोप लगाएका छैनन् । पाँच जनाको परिवारमा तीन सदस्य आमा, बुबा र राजेश लक्षित समूहभित्रै पर्ने भए पनि रमिताबाहेक अरु कसैले खोप लगाउन चासो देखाएका छैनन् । राजेश भन्छन् , ‘मेरो लो ब्लड प्रेसर लो छ , कोरोनाको खोप लगायो भने बिरामी भइन्छ, मरिन्छ भन्ने सुनेँ, त्यसैले लगाइनँ । ’सरकारले कोभिड–१९ विरुद्धको खोपबारे बुझाउन सचेतना कार्यक्रम चलाइरहे पनि कतिपय सहरी क्षेत्रकै सर्वसाधारण विभिन्न अफवाहका कारण खोप लगाउन डराइरहेका छन् । खोपले कसरी काम गर्छ र यसको फाइदा के हुन्छ भन्ने पूर्ण ज्ञान भए पनि खोप लगाउन कतिपय उदासीन देखिएका छन् ।
आधाभन्दा कम जनसंख्याले लगाए पूर्ण खोप प्रदेश १ मा कुल ४९ लाख ९५ हजार १६२ जनसंख्या छ । त्यसमध्ये खोप लगाउने लक्षित जनसंख्या ३२ लाख ७५ हजार ८६६ छ । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार मंगरबारसम्म प्रदेशका १४ जिल्लाका कुल लक्षित उमेर समूहमध्ये ४३.१६ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । त्यसमा १८ वर्षभन्दा माथि उमेर समूहका पूर्ण खोपको मात्रा लगाउने लक्षित वर्गमध्ये ५०.५६ प्रतिशतले पूर्णमात्रामा खोप लिएका छन् । यस्तै, पहिलो डोजको खोपको मात्र लिनेको संख्या ७५.४६ प्रतिशत छ । त्यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका लक्षित वर्गमध्ये मंगलबारसम्म शून्य दशमलव १३ प्रतिशतले दुवै डोजको खोप लिएका छन् । त्यसमा पहिलो डोजको खोप लिनेको जनसंख्या ३८.३२ प्रतिशत छ । प्रदेश १ को पहाडी जिल्लामा १२ वर्षभन्दा माथिको कुल उमेर समूहका लक्षित वर्गमध्ये ५८.७९ प्रतिशतले पूर्णमात्रामा खोप लिएका छन् भने हिमाली जिल्लाका ४६.३४ र तराईका ४०.१३ प्रतिशतले मात्र पूर्णमात्रामा खोप लिएका छन् । हिमाली जिल्ला ताप्लेजुङमा १२ वर्ष उमेर समूहमाथिको कुल लक्षित वर्गमा ५६.६४ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको अवस्थामा झापाजस्तो सहरी बस्ती भएको जिल्लामा ४५.९० प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लिएका छन् । यस्तै संखुवासभामा ६६.३७ प्रतिशत, ओखलढुंगामा ५९.५७ प्रतिशतले पूर्णमात्रामा खोप लगाएका छन् भने ती जिल्लाको तुलनामा सुगम र सहरी क्षेत्र मानिने मोरङमा ३७.८४, सुनसरीमा ३५.४४ प्रतिशतले पूर्ण मात्रामा खोप लिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अधिकृत मुकुन्द दाहालले सरकारले चरण चरणमा खोप अभियान चलाए पनि हिमाली र पहाडी जिल्लाभन्दा तराईका तीन जिल्लामा खोप लगाउनेको संख्या अत्यन्तै कम रहेको बताए । ‘सरकारको खोप अभियानमा तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीका नागरिकको सहभागिता अत्यन्तै न्यून देखिएको छ,’ दाहाल भन्छन् , ‘पछिल्ला समय यिनै जिल्लामा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेको छ ।’
लक्ष्य पूरा हुनेमा चुनौती
प्रदेश १ सरकारले पुस मसान्तभित्र कुल जनसंख्याको ६० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने तयारी गरेको छ । जस अनुसार अहिले १४ वटा जिल्लामा आवश्यक भ्याक्सिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत पठाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबारसम्म लक्षित वर्गको करिव ४४ प्रतिशतले मात्र पूर्ण खोपको मात्रा लिएका छन् । अबको दुई दिनभित्र थप १६ प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने अवस्था छ । तर त्यो पूरा हुनेमा चुनौती देखिएको छ । प्रदेश सरकारले पनि पुस महिनाभित्र लक्षित वर्गमध्ये ६० प्रतिशत नारिकलाई पूर्ण मात्राको खोप लगाउने योजनासहितको आफ्नो लक्ष्य भेटाउन मुस्किल हुने स्वीकारेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्री जयराम यादवले नागरिकमा खोप लगाउने पर्ने चेतनाको कमीले या अन्य कारणले खोप लगाउने कार्यमा सहभागी नहुँदा समस्या भएको बताए । उनले प्रदेश सरकारसँग पर्याप्त मात्रामा खोप रहेको भन्दै ६० प्रतिशत लक्षित वर्गलाई पूर्ण मात्राको खोप लगाउने अभियानमा सरिक भई अनिवार्य खोप लगाउन आग्रह गरेका छन् । ‘हिमाली तथा पहाडी क्षेत्रमा खोप लगाउने कार्यमा त्यहाँका नागरिक जागरुक देखिएका छन् ,’ मन्त्री यादवले भने, ‘तराईका जिल्ला, सचेत नागरिक नै खोप लगाउने कार्यमा उदासीन देखिएका छन् ।’