झापा, माघ १ । मकर संंक्रान्तिको अवसर पारेर झापाको बाह्रदशी गाउँपालिकामा सेलरोटी महोत्सवको आयोजना गरियो ।

जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथीभरा चेतनशील महिला समूहको सहआयोजनामा राजगढ बजारमा सेलरोटी महोत्सवको आयोजना गरिएको हो ।
बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै सामाजिक संघसंस्थाको सहभागितामा आयोजित सेलरोटी महोत्सवमा सहभागी सबैलाई सेलरोटी खान दिईएको थियो । संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले पूर्वमै पहिलो पटक सेलरोटी महोत्सवको आयोजना गरिएको जनचेतना मूल कृषक समूह बाह्रदशीका अध्यक्ष पुण्य ढुंगेलले बताए ।

गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न कृषक समूहमा आवद्ध सदस्यहरु सेलरोटी महोत्सवमा सहभागी भएका थिए । राजगढ बजार परिसरमा आयोजित महोत्सवमा झण्डै तीन हजारभन्दा धेरै मानिस सहभागी हुँदै सेलरोटी महोत्सवको विषयमा जानकारी लिएका थिए । बजार परिसरमा बिहानैबाट सेलरोटी पकाउन शुरु गरेका महिलाहरुले दिनभरजसो सेलरोटी पकाउँदै आएका सबै जनालाई सेलरोटी खान दिएका थिए ।

सेलरोटी महोत्सवको आयोजनाले आफ्ना भावी पिढीले समेत यसको महत्व वुझ्ने र अन्य समुदायलाई समेत सेलरोटीका विषयमा थाहा हुने भएकाले महोत्सव आयोजना गरिएको पाथीभरा चेतनशील महिला समूहकी अध्यक्ष शान्ता खरेलले बताइन् ।
हिन्दू धर्मावलम्बीहरुले तिहार या त पितृ वा देवोकार्यमा मात्रै पकाउँदै आएको सेलरोटीलाई राजगढ बजार परिसरमा महोत्सवकै रुप दिँदै भावी पिढीलाई समेत सेलरोटीका विषयमा जानकारी दिनुले भावी सन्ततिमा समेत संस्कार र संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास शिक्षासेवीको गंगाप्रसाद अधिकारीको रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्