बिर्तामोड , माघ १ ।श्रीकृष्ण प्रणामी मन्दिर बिर्तामोड–२ चारपानेले दुई बर्षअघि आयोजना गरेको स्वर्ण महोत्सवको आयव्यय सार्वजनिक गरेको छ ।

स्वर्ण महोत्सव मुल आयोजक समितिले आज मन्दिर परिसरमा पत्रकार भेटघाट गर्दै महोत्सवको आयव्यय सार्वजनिक गरेको हो । स्वर्ण महोत्सवमा आम्दानीतर्फ एक करोड ४७ लाख ६ हजार ८ सय ४८ रुपैयाँ र खर्चतर्फ एक करोड ५० लाख ६ हजार ६ सय ५१ रुपैयाँ भएको हिसाब सार्वजनिक गरिएको छ । त्यस्तै उठन बाँकी चार लाख ६ हजार ३१५ रुपैयाँ रहेको छ । आयोजक समितिले सार्वजनिक गरेको आयव्यय अनुसार १२ लाख ७० हजार ५६० रुपैयाँ तिर्न बाँकी रहेको छ भने उक्त रकममध्ये ४ लाख ७ हजार रुपैयाँ अक्षय कोषको रहेको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर गोपीधाम धरानका गाधीपति श्री जगतानन्द शास्त्रीजी महाराजको अध्यक्षतामा भएको कार्यक्रम श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य चन्द्र डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

श्रीकृष्ण प्रणामी मन्दिर चारपानेका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष टहलदास ओली, श्रीकृष्ण प्रणामी युवा परिषद् प्रदेश १ का अध्यक्ष अनिल ढुंगाना, श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा स्वर्ण महोत्सव मुल आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्