झापा, माघ १ ।नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनको प्रकरणमा व्यवसायीको मानमर्दन गरिएको भन्दै आपत्ति जनाएको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी रूपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

बतास अर्गनाइजेसनले सरकारले मागेको टेन्डर अनुसार काम गरेको भन्दै व्यवसाय गर्ने व्यवसायीको चाहनालाई गैरकानुनी नभन्न महासंघले आग्रह गरेको छ । महासंघको विज्ञप्तिमा सञ्चारमाध्यम र सरोकारवाला अन्य निकायले व्यवसायीको भावना नबुझी एकलौटी रूपमा सूचना प्रवाह गरेको गुनासो गरिएको छ ।

‘प्रक्रिया र कानुनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिँदैन तर त्यसको सत्यतथ्य खोजी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । सञ्चारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन,’ विज्ञप्तिमा भनिएको छ । यसअघि महासंघका अध्यक्ष शेखर गोल्छा र पोखरा उद्योग वाणिज्य संघले पनि यस विषयमा आपत्ति जनाएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छानबिन टोलीले भने सम्झौता गरिएको भन्दा धेरै क्षेत्रमा संरचना बनाएको भन्दै भत्काउनु पर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्