झापा, माघ २ । ‘भुकम्पीय सचेतना,सुरक्षित संरचना’ भन्ने मुल नाराका साथ जिल्ला विपद व्यवस्थापन समिति झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयोजनमा २४ औं भुकम्प सुरक्षा दिवस मनाईएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभाहलमा सम्पन्न कार्यक्रम प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सघन शहरी विकास आयोजना प्रमुख राजेन्द्र खतिवडाले आवास,संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधी निर्माण गर्नुपर्ने र उक्त कार्यका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई अनुरोध गरे ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दलका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिहरु, रेडक्रसकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाबाट मेची अस्पताललाई अक्सिजन कन्सनट्रेटर १ थान, रेडक्रसका एम्बुलेन्सहरुलाई २० थान अक्सिजन सिलिन्डर, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका १० वटा समुदायलाई विपद् प्रतिकार्यका लागि खोज तथा उद्धार सामग्री र कनकाई नगरपालिकाको स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका मन्त्री चन्द्र चुडालले संचालन गरेको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, राजनीतिक दलका तर्फबाट नरेश सञ्जेल , प्रजिअ रिजाललगायतले आफ्नो धारणा राख्दै संरचना आचारसंहितालाई सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए ।