बिर्तामोड, माघ ३ । डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि आपसी कचिंगलले नेकपा माओवादी केन्द्र बिर्तामोडको नेतृत्व चयन हुन सकेको छैन ।

गत मंसिर १६ गते नेकपा माओवादी बिर्तामोडको दोस्रो नगर अधिवेशन उद्घाटन भएको थियो ।तर , अहिलेसम्म सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्न नसकेको हो । नगर अध्यक्ष पदका लागि सहमति नबन्दा माओवादीले नगर कमिटी चयन गर्न नसकेको हो । जसबाट कार्यकर्तामा निराश आउनुका साथै पार्टीभित्रको विवाद बाहिर जान थालेको छ ।
शुरुमा नगर अध्यक्षका लागि युवराज दाहाल , ठगबहादुर खड्का र मोहन सुब्बाले दावी गरेका थिए । तीन जनामध्ये पछि आएर खड्काले छोडेपनि दाहाल र सुब्बाले दावी छोड्दै नछोडेपछि नेतृत्व चयन गर्ने प्रयास कठिन बनेको हो । सर्वसम्मतको प्रयासका लागि शुरुमा ४८ घण्टाको म्याद तोकियो । त्यसपछि त्यसलाई बढाउँदै लगियो । एक नम्बर प्रदेशको अधिवेशन सकेर गर्ने भनेर थाती राखियो । प्रदेशको निर्वाचन सकेको हप्तौ बितिसक्दा समेत बिर्तामोडको अधिवेशन अधुरै रहेको छ ।
नगरको नेतृत्व चयन किन हुन नसकिरहेको हो भन्ने आफूले बुझ्न नसकिरहेको अध्यक्षका प्रत्यासी सुब्बाले बताए । ‘यसलाई तत्कालै बसेर टुंग्याउनु पथ्र्यो ’उनले भने ,‘ यसलाई विधिवत रुपमा समापन गरिनु पर्छ । ’ आफू नगर अध्यक्ष पदका लागि निर्वाचनको प्रक्रियामै जान तयार रहेको उनको भनाई छ । उता नगर अध्यक्ष छोड्न नमानेका दाहालले आफूलाई सो पद दिन सुब्बाले आन्तरिक सहमति गरिसकेको दावी गरेका छन् ।‘ उहाँसंग आन्तरिक सहमति भइसकेको हो’ दाहालले भने , ‘ बीचमा केही गडबडी भए अन्डरस्टेन्डिङ बनाउनु पर्छ ।’ अहिले आफू अस्वस्थ भएकाले केही दिनमै नगरको नेतृत्व चयन प्रक्रिया टुंगो लाग्ने दाहालको भनाई छ । नगर कमिटी ६५ जनाको हुनेछ । त्यसमध्ये ७ जना पदाधिकारी छानिनेछन् ।