झापा , माघ ३ । भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको करीब १० लाख मूल्य बराबरको मोटर पार्टस् र कारसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो २.२० बजे मेचीनगर नगरपालिका वडा नं. १२ स्थित सहरेडाँगी चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा ईलाम सूर्योदय नगरपालिका वडा नं २ बस्ने मनोज खड्काले चलाई ल्याएको बा ४ च ३०९ नं. को वेगनर कारलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको मोटर पार्ट्सका सामानहरु बरामद भएको थियो ।

आवश्यक कार्वाहीको लागि सामानसहित खड्का र कारलाई काँकरभिट्टा भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । उनले दाखिला गरिएको सामानको ९ लाख ९२ हजार ,८७० रुपैयाँ भन्सार मूल्यांकन कायम भएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्