बिर्तामोड , माघ ४ । गौरादह नगरपालिकाको खेलकुद विकास समितिले संचालन गरेको प्रथम मेयरकप अन्तरपालिका स्तरीय कराते प्रतियोगितामा बिजयी बिर्तामोडका खेलाडीलाई सम्मान गरिएको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिले आज एक कार्यक्रमका बीच विजयी खेलाडीलाई सम्मानसहित मेडल ,ट्रफी , प्रमाणपत्र र नगरको तर्फबाट ट्रयाकसुट वितरण गरेको समितिका अध्यक्ष टीका संग्रौलाले बताए ।

गत पुष २३ र २४ गते सम्पन्न प्रतियोगितामा बिर्तामोड नगरपालिकाबाट १० जना खेलाडी बिजयी भएका थिए। प्रतियोगितामा मेनुका मगर,साङ्साङ्ग लिम्बू र विशाल राई गरी तीन जनाले प्रथम स्थान हासिल गरेका थिए ।यस्तै दोश्रो स्थान हासिल गर्नेमा पुजा दर्नाल,मेनुका मगर(काता) र तृतीय हुनेमा राजुनानी अधिकारी ,राम तामाङ अरुण लिम्बू इक्सा लिम्बू भिमराज राई र प्रियङ्का राई रहेका छन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा करातेका पूर्व प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौलाले खेलाडीलाई शुभकामना दिएका थिए । कार्यक्रमको संचालन समितिका उपाध्यक्ष दुर्गा निरौलाले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्