मेचीनगर, माघ ४ । आगो निभाउने क्रममा ज्यान गुमाएका झापा मेचीनगर–८ का सरद राजवंशीको परिवारलाई नेकपा माओवादी केन्द्र मेचीनगरले सहयोग जुटाएको छ ।

१२ औ पुण्यतिथिमा राजवंशी समाज विकास समिति झापाको पहलमा माओवादी केन्द्रले नगद ८ हजार ५ सय र खाद्यान्न सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

सोही क्रममा राजवंशी समाज विकास समितिले नगद ७ हजार ५ सय रुपैयाँ मृतककीे छोरीलाई हस्तान्तरण गरेको राजवंशी समाज विकास समितिका सचिव मुनिलाल राजवंशीले जानकारी दिए । मेचीनगर–७ पिपल चोकस्थित केशव पाठकको घरमा गत पुष २१ गते विद्युत सर्ट भई आगो लागेको थियो । छिमेकीको घरमा आगो लागेको देखेर निभाउन पुगेका सरद राजवंशीको सोही घरको ग्यास सिलिन्डर पड्किएर मृत्यु भएको थियो ।

आर्थिक अबस्था कमजोर रहेका मृतक परिवारलाई अहिलेसम्म स्थानीय निकायबाट सहयोग प्राप्त नभएको परिवारको गुनासो छ । त्यसक्रममा माओवादी केन्द्र मेचीनगर कमिटीका अध्यक्ष राजन चिमरियाले स्थानीय सरकारमार्फत तत्काल राहत दिलाउन पहल गर्ने बताए । पीडित परिवारलाई उचित क्षतिपूर्तिको ब्यबस्था मिलाइदिन स्थानीय सरकारसमक्ष माग गरेको राजवंशी समाज विकास समितिका सचिव राजवंशीले जानकारी दिए ।

कार्यक्रममा उत्तम राजवंशी, नन्दलाल राजवशी, मेचीनगर समितिका सल्लाहकार सदस्य हिरामोहन राजवंशी, नगर समितिका सचिव सुकलाल राजवंशी, कोषाध्यक्ष मिना राजवंशी, मेचीनगर –१४ का अध्यक्ष सुशील राजवंशी, मेचीनगर नगरपालिकाका इन्जिनियर प्रदिप राजवंशी, ओभरसियर सुजित राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्