बिर्तामोड , माघ ५ । बिर्तामोडमा राजवंशी सामुदायिक भवन बन्ने भएको छ ।

बिर्तामोड ३ रितनवारीस्थित तीन सिनानघाटमा बन्न लागेको सामुदायिक भवनको आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले संयुक्त रुपमा शिलान्यास गरे । राजवंशी समाज विकास समिति बिर्तामोडको आयोजनामा सो भवन बन्न लागेको हो ।
प्रमुख अतिथिको रुपमा भवन शिलान्यास गर्दै उपप्रमुख प्रसाईले नेपालमा रहेका १२५ वटा जातिको आ–आफ्नै संस्कार संस्कृति रहेको बताउँदै उनीहरुबीच भाइचाराको सम्बन्ध बढाएर एक अर्काको सांस्कृतिक सम्पदाको सम्मान गर्नुपर्ने धारणा राखिन् । उनले आफूहरुको कार्यकाल समाप्त भएर अर्का जनप्रतिनिधि आउँदा समेत राजवंशी सामुदायिक भवनको लागि पहल गर्ने आश्वासन दिइन् । बिर्तामोड ३ का वडाध्यक्ष सिटौलाले राजनीतिक स्वार्थभन्दा माथि उठेर सामाजिक कार्य गर्नसके समृद्ध समाज निर्माण गर्न सकिने बताए । उनले आफ्नो ठाउँबाट सामुदायिक भवनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष जितलाल राजवंशीको अधयक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य सुरेन राजवंशी , वडा सदस्यहरु भक्तसिंह राजवंशी , पूर्णप्रसाद राजवंशी , जग्गादाता जितेन राजवंशीलगायतको उपस्थिति रहेको थियो । जग्गादाता स्व. रितनलाल राजवंशीका छोराहरुले तीन सिनान घरलाई निशुल्क दिएको साढे पाँच कठ्ठा जग्गामा सामुदायिक भवन बन्न लागेको हो । तीनतले इस्टिमेट गरिएको सो भवनका लागि पर्यटन प्रवद्र्धन मन्त्रालयले १० लाख र बिर्तामोड नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेका छन् । एकतला पूरा गर्न करिव १ करोड खर्च हुने र थप बजेट संकलन गर्ने अभियानमा आफूहरु रहेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष झलक राजवंशीले बताए । राजकुमार राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव बालकृष्ण राजवंशीले गरेका थिए ।