हल्दिबारी , माघ ५ । आधा दर्जनजति शिक्षकलाई कोरोना संक्रमण भएपछि जनजागृति माध्यमिक विद्यालय हल्दिबारी १ गोलधापको अर्धवार्षिक परीक्षा स्थगित गरिएको छ ।

माघ ३ गते प्रधानाध्यापक इन्दिरा चुडाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका अन्य शिक्षकलाई पनि संक्रमण पुष्टि भएको छ । आशंकितहरुको एन्टीजेन टेष्ट गर्दा अन्य ६ जना शिक्षकलाई पनि संक्रमण पुष्टि भएको हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष कपिलमणि चापागाईलाई संक्रमण पुष्टि भएको छ भने कक्षा १२ पढ्ने एकजना विद्यार्थी पनि संक्रमित भएका छन् विद्यालयले माघ ४ गतेदेखि कक्षा १ देखि १० सम्मको अधैवार्षिक परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर गर्नेगरी तयारी गरेको थियो । तर, शिक्षक , विद्यार्थी, विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई कोरोना संक्रमण भएपछि मंगलबार सूचना जारी गरी परीक्षा स्थगित गरिएको शिक्षक झमक तिम्सिनाले बताए । उनले गोलधापमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको जानकारी दिए ।

संक्रमण पुष्टि भएका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चापागाईले प्रधानाध्यापकसहित शिक्षकहरुलाई कोरोना भएपछि केही दिनका लागि परीक्षा रोक्नु परेको बताए । उनले पहिला संक्रमण पुष्टि भएका प्रधानाध्यापकसंगको सम्पर्कले आफूलगायत अन्यलाई संक्रमण सरेको हुनसक्ने आशंका गरे ।

बुधबार गोलधाप स्वास्थ्य चौकीमा एन्टीजेन परीक्षण गरिएको थियो । ६० जनाको परीक्षण गर्दा १३ पुरुष र ८ महिला गरी २१ जनालाई संक्रमण पुष्टि भएको शिक्षक तिम्सिनाले जानकारी दिए । जनजागृति माविसंगै गोलधापको सरस्वती माविका शिक्षकहरुलाई पनि संक्रमण देखिएको छ । त्यस विद्यालयका तीनजना शिक्षकलाई संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्